अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्ने बताएका छन् ।
पशुपति क्षेत्र विकास कोषको ३९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बी पशुपतिनाथ र बौद्ध धर्मावलम्बी लुम्बिनी आउन चाहेकाले नेपाललाई सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा अघि बढाइनुपर्नेमा जोड दिए ।
भारतका स्वामी नारायणका भक्तजनले मुक्तिनाथलाई इष्टदेव मान्ने र जनकपुर एवं अयोध्याबीच प्राचीकालदेखि नै सम्बन्ध रही आएकाले पनि सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानसके नेपालको अर्थतन्त्रलाई माथि उठाउन सकिने मन्त्री पाण्डेको भनाइ छ । सांस्कृतिक अर्थतन्त्र कसरी अघि बढाउने भनी मन्त्रालयले पनि सोच बनाइरहेको उनको भनाइ छ ।
कम्बोडियाको अङ्कुरबाट मन्दिरले त्यहाँको अर्थतन्त्रमा १० प्रतिशत योगदान गर्ने गरेको उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले नेपालमा समग्र पर्यटन क्षेत्रबाट पनि अर्थतन्त्रमा १० प्रतिशत अर्थतन्त्रमा योगदान नहुने गरेको बताए । पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र र जनकपुर क्षेत्रका विषयमा नकारात्मक कुरामात्र आफूकहाँ आउने गरेको उल्लेख गर्दै उनले तथ्य र तथ्याङ्कका आधारमा मात्र नकारात्मक कुरा गर्न आह्वान गरे ।
भौतिक कुरामात्र सबै चीज होइन भनी आत्मिक र आध्यात्मिक जागरण पनि गराउनुपर्छ, यसका लागि काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रमा पैदलमार्गबाट एक ठाउँबाट अर्को ठाउँमा जान सकिने गरी मार्ग निर्माण हुँदैछ, स्वयम्भू–हनुमानढोका–पाटन–पशुपतिनाथ–बौद्धनाथ–बूढानीलकण्ठलगायत स्थललाई पैदलमार्गबाट जोड्ने तयारी गरिरहेका छौँ, मन्त्री पाण्डेले भने ।
प्रतिक्रिया