त्यो बेलाको मई दिवस र भिडको उन्माद

हरेक वर्ष मई दिवस आउँदा म २०६४ सालको त्यो मई दिवस सम्झन्छु । हुन त त्यो भन्दा एक महिना अगाडिको घटना पनि सम्झन चाहन्छु । त्यस दिन अप्रिल १ तारिख थियो । मई दिवसको ठिक एक महिना अगाडि । दोश्रो जनआन्दोलनको सफलता पछि गिरिजा प्रसादको नेतृत्वमा भएको मन्त्रिपरिषदको पूनर्गठन भएको थियो ।
यस पछि त्यस अगाडि सम्म आतंकवादी भनिएका दलको सदस्यहरुलाई पनि मन्त्रि बनाइएको थियो । यसैको खुशियालीमा वा भनौ कब्जा गर्ने मनसायमा एक हुल माओवादीका युवासमुह वाइसिएलका कार्यकर्ताले पोखराको मुख्य चोकका रुपमा रहेको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिकमा रातो झण्डा गाडेका थिए । गाउँघरमा माओवादीले कतै झण्डा गाडेमा त्यो स्थान उनिहरुको नियन्त्रणमा हुने त्रास थियो । तर पोखराको मुख्य चोकमा झण्डा गाड्दा केहि भइ हाल्छ भन्ने कसैले पनि सोचेका थिएनन् । तर एक महिना पछि जे भयो त्यो इतिहासमा बिर्सन नसकिने एक घटना भयो ।
मई दिवस
आज अन्तराष्ट्रिय मई दिवस । हुन त मजदूरहरुका हक र हितका लागि भनेरै सन १८९० को मई १ का दिन देखि मई दिवस मनाउन थालिएको हो । यसले मजदूरहरुका दैनिकी ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनमा बाँडिएको थियो । यस अगाडि भने शोषित मजदूरहरु १५-१६ घण्टा काम र बाकी आराममा बिताउँथे ।
नेपालको परिवेशमा भनौ भने देशमा प्रजातन्त्रको लहर चलिरहँदा भारतको कलकत्तामा बि.सं. २००६ बैशाख १० गते गठित तर भदौ ३० मा सार्वजनिक घोषणा गरिएको नेपाल कम्यूनिष्ट पार्टीले प्रजातन्त्र आगमन भइसकेपछि नेपालमा नेपाल कम्यूनिष्ट पार्टी माथि प्रतिबन्ध लागेको अवस्थामा पनि पहिलो पटक वि.सं. २००९ सालको बैशाख १९ गतेका दिन वीरगंजमा पहिलो पटक ६४औं मई दिवस मनाएको थियो । हुन त नेपालमा बिराटनगर जूट मील आन्दोलनका नाममा मजदूरहरुका हक र हितका लागि बि.सं. २००३ फागुन २१ गते नै आन्दोलनको शुरुवात भइसकेको थियो । वि.सं. २०१० सालमा ६५औं मई दिवस पनि मनाइयो ।
वि.सं. २०२० देखि नियमित मई दिवस मनाउन थालिएको भए तापनि नेपालले सन १९६६ अर्थात वि.सं. २०२३ भदौ २३ गते अन्तराष्ट्रिय श्रम संगठनको सदस्यता लिए पछि भने मई दिवसको औचित्यको शुरुवात भएको थियो । २०४६ साल पछि भने मई दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिन थालेको थियो ।
मजदूरका हक र हितका कुरा गरिरहँदा त्यहाँ केही ब्यक्ति मजदूरका नाममा राजनीति गर्न थाल्दछन् । ति मजदूरका नेता कहलिएकाहरु काम गर्दैनन् । भाषण गर्छन्, मालिकसंग मोलतोल गरेर बेला बेला बिभिन्न सुविधा पनि लिन्छन् । तर अन्य मजदूरहरुले झै ८ घण्टा काम गर्दैनन् । ८ घण्टा होइन तिनिहरु काममा नै जाँदैनन् । तर तलव भने त्यस्तै परेमा डबल पनि लिन्छन् । बेला बेला मालिकलाई हडतालका धम्कि दिँदै सुविधा बढाउँदै जान्छन् ।
यस वर्ष १३६औं मई दिवस मनाउन गइरहँदा मलाई भने १८ वर्ष अगाडिको सन २००७ को मई दिवस अर्थात वि.सं. २०६४ बैशाख १८ गते मंगलवारको कालो दिनको याद आउँछ । यस दिन तथाकथित मजदूरहरुको संगठनका रुपमा उडाएको वाइसिएलका कार्यकर्ताहरुले पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक तोडफोड गरेका थिए ।
वि.सं. २०६३-६४ सालको १९ दिने जनआन्दोलनको समाप्ती पछि देशले काँचुली फेर्ने आशाका साथ जनताको ब्यग्रता आफ्नै किसिमको थियो । देश हाँक्नेको समुह सत्ता आफ्नो कसरी बनाउन सकिन्छ मै तल्लिन थिए । यसको साथै तिनै माउ पार्टीको झण्डाको आडमा उपद्रो मच्चाउनेको जमात पनि थियो । थाहा थिएन यो उपद्रोको निर्देशन माउ पार्टीबाट नै हुन्थ्यो या उच्छृंखलता थियो ।
राजाबाट सत्ताको बागडोर सुम्पिए पछि गिरिजा प्रसादको नेतृत्वमा सरकार बनेका थियो । यसै क्रममा वि.सं. २०६३ को चैत्र १८ गते मन्त्री परिषद परिवर्तन भएको थियो । गिरिजा प्रसादकै नेतृत्वमा बनेको सरकारमा पहिले आतंकवादी भनिएकाहरुको समुह नै मन्त्री बनाइएका थिए । शायद यसैको खुशियाली वा आगामी मई दिवस मनाउने तैयारीको क्रमको प्रचारमा एक हुल माओवादीका युवासमुह वाइसिएलका कार्यकर्ताले पोखराको पृथ्वीचोकमा रहेको पृथ्वी नारायण शाहको सालिकमा रातो झण्डा फरफराए । यो अप्रिलको १ तारिख थियो ।
यो समुहले कहिँ पनि झण्डा गाडेपछि उनिहरुको हुने गाँउमा आतंक मच्चाउने समयमा पनि भएको थियो । यहाँ सालिकमा झण्डा गाड्दा त्यस्तो अनुमान कसैले पनि गरेन । तर एक महिना पछि मई दिवसको दिन बैशाख १८ गते चारैतिर एउटा उन्माद थियो । पहिलो पटक धुमधामसंग मई दिवस मनाउन पाएका थिए । बिस्तारै भिड पृथ्वीचोकमा बढ्न थाल्यो । शायद नेतृत्व पङ्तिको निर्देशन थियो । या अनियन्त्रित भिडको उन्माद थियो । एक हुल सालिक माथी चढ्न थाले ।
एकैछिनमा भिडले सालिक तोड्न थाले । भिड भित्रको एक समुह पहिले नै तैयारी गरेर आएको स्पष्ट हुन थाल्यो । घनले सालिकलाई हान्न थाल्यो सालिक तोडियो । सालिकबाट टाउको निकालेर फुटबल खेल्न थाले । प्रशासनबाट शायद कुनै निर्देशन आएन होला तसर्थ प्रहरी तमासा हेरेर बसे । चारैतिरका स्थानिय किंकर्तव्यविमूढ थिए । चाहेर पनि केही गर्न सकिने अबस्था नै थिएन । मुर्ख देखी दैव डराउँछ भन्छन, सर्वसाधारणले के नै गर्न सक्दथे र ।
हरेक देशमा आन्दोलन हुन्छन् । जनताले समय समयमा परिवर्तन खोज्छन् । परिवर्तन हुन्छ पनि । तर परिवर्तनको अर्थ इतिहासको पाना नै च्यातेर नयाँ इतिहास लेखिदैन । इतिहास अपरिवर्तित हुन्छ । इतिहास शाश्वत हुन्छ । सालिक तोडेर वा इतिहासका किताव जलाएर पुरानो इतिहास मेटिदैन ।
सालिकसंग दुइवटा इतिहास गाँसिएको थियो । पहिलो त सर्वविदितै भएको नेपाल एकिकरणका महानायक पृथ्वीनारायण शाहको सालिक थियो । दोश्रो नेपालको महान मुर्तिकार अमर चित्रकारको पाँच वर्षको मेहनतबाट तैयार भएको मुर्ति थियो । हामीले पृथ्वीनारायणको अस्तित्व मेटाउन अक्षम्य प्रयास गर्दा अमर चित्रकारको त्यो मेहनत र परिश्रमलाई पनि सदाको लागी मेटिदियौ । सो मुर्ति बनाउन अमर चित्रकारका साथमा बालकृष्ण समको पनि निकै योगदान पुगेको थियो ।
तस्विरमा मई दिवस मनाउने तैयारीमा एक महिना अगाडि सालिकमा झण्डा गाडिएको पहिलो तस्विर बाकी आठ तस्विरको श्रृंखला भने सालिक तोड्दै गर्दाको हो ।
प्रतिक्रिया