शुक्रबार भित्र अनिवार्य रूपमा कागजात र दस्तुर बुझाउन एनआरएनए डेलिगेट्सलाई निर्वाचन समितिको आग्रह

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा डेलिगेट्स (प्रतिनिधि) बन्नका लागि शुक्रबारभित्र अनिवार्य कागजात र दस्तुर बुझाउन आग्रह गरिएको छ ।
एनआरएनए निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै वैशाख १९ गते (२ मे २०२५) शुक्रबार अपराह्न २ बजेसम्म अनिवार्य कागजात र दस्तुर बुझाउन बाँकी रहेका डेलिगेटलाई प्रमाण पुग्ने कागजात र दस्तुर बुझाउन आग्रह गरेको छ । निर्वाचन प्रयोजनका लागि अनलाइन फारम भरिसकेका २,६४३ डेलिगेट (मतदाता) हरूमध्ये अहिलेसम्म ६२५ जनाको मात्रै प्रमाणीकरण भई वैशाख १५ गते प्रथम मतदाता नामावली प्रकाशन भई सकेको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बाँकी रहेका २,०१८ डेलिगेटहरूलाई वैशाख १९ गते (शुक्रबार) अपराह्न २ बजेसम्म समय दिइएको जानकारी दिए । शुक्रबार अपराह्न निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्नेछ भने शनिवार महाधिवेशनको उद्घाटन पछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।
‘निर्वाचन प्रक्रियामा सहभागिता जनाउन इच्छुक सम्पूर्ण डेलिगेटले तोकिएको म्याद भित्र आवश्यक प्रक्रिया पूरा नगरेमा, मतदाता नामावलीबाट वञ्चित हुन सक्ने सम्भावना अत्यन्त प्रबल रहनेछ । त्यसैले सबै सरोकारवालालाई समयमै कार्य सम्पादन गर्न हार्दिक अपिल गर्दछौँ,“ समितिले भनेको छ ।
निर्वाचन समितिले मतदाताको प्रारम्भिक नामावलीमा रहेका नामहरूमाथि यदि कसैले दाबी वा विरोध गर्न चाहेको खण्डमा सोही समयमा निवेदन दिन सक्ने प्रावधान रहेको पनि जनाएको छ ।

प्रतिक्रिया