कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

नेपालखोज २०८२ वैशाख १८ गते १६:१६

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताहरुलाई कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

आज यहाँस्थित वीरेन्द्र सभागृहमा आयोजित कोशी प्रदेश लगानी सम्मेलन-२०२५ उद्घाटन गर्दै उनले शान्तिसुरक्षाको अवस्था राम्रो रहेकाले लगानीकर्ताले ढुक्क भएर उद्योग, व्यापारका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

कोशी प्रदेशमा आवश्यक विकासका पूर्वाधार तयार भइसकेकाले लगानीकर्तालाई कुनै पनि असुविधा नहुने उनले बताए । एसियाली मापदण्डमा पूर्व पश्चिम राजमार्ग स्तरोत्रति गरिरहेको उल्लेख गर्दै हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गले पनि लगानीकर्तालाई व्यापार, व्यवसाय विस्तार गर्न सहज हुने उनको भनाइ छ ।

कोशी प्रदेशमा धार्मिक, प्राकृतिक सम्पदा र शिक्षा एवं स्वास्थ्यका क्षेत्रमा लगानी गर्न उपयुक्त हुने धारणा उनले राखे ।

देशको कुल गार्हस्थ उत्पादनमा कोशी प्रदेशको भूमिका अग्रणी रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले युवा विदेश होइन, अब स्वदेशमै उद्यमी बनेर काम गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया