कानुनी तथा विधिको शासनका पक्षमा लेखापढी व्यवसायीको भूमिका महत्त्वपूर्ण छ : सभामुख

ललितपुर । सभामुख देवराज घिमिरेले पारदर्शी, उत्तरदायी र कानुनी शासनको निर्माणमा लेखापढी व्यवसायीको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको नवौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले बुझिने भाषामा कानुनको व्याख्या गरी कामकाजमा सहजीकरण गर्ने कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
सभामुख घिमिरले भने, “सेवाग्राहीका निवेदन, लिखत तथा अन्य कागजात मस्यौदा गर्ने, घरसारका लिखत तयार गर्नेलगायत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै स्वरोजगारको बलियो माध्यम बनेको यो पेसाबाट धेरै व्यक्ति लाभान्वित भएका छन् । आमजनतासँग प्रत्यक्ष जोडिने यो पेसालाई आयआर्जनसहित अझ मर्यादित बनाउने जिम्मेवारी यहाँहरूको हो ।”
मालपोत तथा जग्गा नापजाँचसम्बन्धी ऐनमा व्यापक सुधारको आवश्यकता रहेको उनले बताए । कृत्रिम बौद्धिकता (एआई)लगायत प्रविधिको विकाससँगै लेखापढी क्षेत्रमा पनि आवश्यक रूपान्तरणको खाँचो रहेको धारणा राख्दै उहाँले सूचना प्रविधिको प्रयोगले पेसागत सहजता हुनेभएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने आवश्यकता औँल्याए ।
सभामुख घिमिरले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउने कार्यमा आमजनतासँग प्रत्यक्ष जोडिएर कामकाज गर्ने लेखापढी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रसङ्ग उल्लेख गर्दै जनताको विश्वास जित्नेगरी कानुनी राज्य र विधिको शासनका पक्षमा उभिन अनुरोध गरे ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनअन्तर्गत करिब २२ हजार सदस्य रहेका छन् । सो महाधिवेशनमा एक हजार ३०० प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया