रातो मछिन्द्रनाथको रथयात्रा सुरु, आज गावहाल पुर्याइयो

पाटन (ललितपुर) । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ । रथयात्रा आज पुल्चोकबाट सुरु भएर गावहाल पुर्याइएकाे छ । रातो मच्छिन्द्रनाथसँगै मीननाथको रथलाईसमेत गावहाल पुर्याइएको छ । पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ बनाउँदै गर्दा पाटनको टङ्गालमा मिननाथको रथ निर्माण गरिने प्रचलन छ । रथयात्राअगावै मिननाथको रथलाई आजै पुल्चोक ल्याइएको थियोे ।
यही वैशाख १५ गते सोमबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रवहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।
यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ । रथयात्राको अवलोकन गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको निमन्त्रणामा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि र विभिन्न देशका राजदूतहरु, अन्तरराष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि ललितपुर पुगेका थिए ।
ललितपुर महानगरको निमन्त्रणामा रथयात्रा अवलोकन गर्न युरोपेली युनियनका राजदूत भेरोनिका लोरेन्जो, इजरायलका राजदूत श्मुलिक एरीबास, जापानका राजदूत मयादा तोरु, बेलायतका राजदूत रब फेन, अमेरिकी दूतावासका पब्लिक अफियर्स चिफ जेहरा नाक्यूभीका साथै युनेस्को, युएनडिपी, युएनएचसीअरका प्रतिनिधिहरु ललितपुर आउनुभएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
रथयात्रा हेर्न ललितपुर आएका विदेशी पाहुनालाई महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन समितिका संयोजक एवं वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनलगायतले स्वागत गरेका थिए ।
त्यस्तै भगिनी सम्बन्ध कायम भएको रसियाको उलान उदे सहरका नगर प्रमुख र उनको प्रतिनिधिमण्डल, अखिल भारत नेवार सङ्गठन आसाम इकाइका लिलबहादुर प्रधान र केन्द्रका सूर्यनारायण प्रधानसमेतले रथयात्राको अवलोकन गरेका छन् ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु रातो मच्छिन्द्रनाथको परिचय र चर्चालाई अन्तरराष्ट्रियस्तरमा थप उचाइ दिन राजदूत र अन्तरराष्ट्रिय विकास साझेदार संस्थालाई निम्तो दिएको बताए । रासस
प्रतिक्रिया