शुक्रबार, वैशाख १९, २०८२

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपालखोज २०८२ वैशाख १९ गते १४:०९

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित सडकमा ना.३ ख २३५३ को ट्रकले मे.८ प ६४९८ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–१० बस्ने ६८ वर्षीय टंक प्रसाद बरालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको गौरीगंज गाउँपालिका–२ बाहुन टोलस्थित सडकमा बाहुन टोलबाट चिया बगानतर्फ जाँदै गरेको मे.१ त ६२०० नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय सैला मुर्मुको छोरा ९ वर्षीय देवराज मुर्मुको बिहीबार बिहान मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको दमक हस्पिटल एण्ड रिसर्च सेन्टर दमकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित सडकमा बोदेबरसाईनबाट देउरीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय शिवराम मण्डलको मृत्यु भएको छ । मोटरसाइकलले बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य १ जना पैदालयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कैलालीको जानकी गाउँपालिका–३ स्थित डुडेझारी सडकमा से.५ प २५६० नम्बरको मोटरसाइकल र सु.प.प्र. ०१–०१२ प ८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा से.५ प २५६० नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका–९ बस्ने १९ वर्षीय राकेश परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सु.प.प्र. ०१–०१२ प ८०७५ नम्बरको मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुर चोकस्थित सडकमा बडहर्वा चोकबाट कलैयातर्फ जाँदै गरेको रा.१ ख १९८० नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने धर्मेन्द्र चौधरीको छोरा ७ वर्षीय सुजित चौधरीको मृत्यु भएको छ । टिपरले बुधबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ललितपुरमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीस्थित सडकमा बद्दौरबाट गुगौलीतर्फ आउँदै गरेको लु.३ त ४७९७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–२ उठहवा बस्ने २० वर्षीय श्यामलाल कोरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया