रूपसे झरनामा तीन करोडभन्दा बढीको पर्यटकीय पूर्वाधार

म्याग्दी । पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रूपसे झरनामा पूर्वाधार निर्माण थालेको छ । चीन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रूपसे झरना अवलोकन गर्ने पर्यटकको सहजताका लागि अन्नपूर्ण गाउँपालिकाले तीन करोडभन्दा बढीको लागतमा पूर्वाधार निर्माण थालेको हो ।
सार्वजनिक शौचालय, फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पहाडमा फलामको रेलिङसहितको पदमार्ग, झर्याङ र खाजाघरलगायतका पूर्वाधार गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले बर्ताए ।
२०८१ जेठ ३० गते सुन्दर निर्माण सेवाले तीन करोड २३ लाख ५५ हजार ३६९ मा ठेक्का सम्झौता गरेको योजना २०८२ पुस २५ गते सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।
सडक छेउमा रहेको झरनाको फेदीमा कटान रोकथामका लागि पक्कि र पहिरो नियन्त्रण गर्न ग्यावीयन पर्खाल निर्माण भइरहेको छ । सो ठाउँको जग्गा सम्माएपछि प्रवेशद्धार, खाजाघर र टिकट काउन्टर बनाउने योजना रहेको वडा अध्यक्ष पुर्जाले बताए । फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पदमार्ग बनाउन भिरमा फलामको रड राखेर ‘रक एङ्करिङ’ गरिएको छ ।
करिब ३०० मिटर अग्लो झरनामा तीन वटा तह छन् । छङ्छङ् गर्दै झर्ने झरनामा इन्द्रेणी पर्दा आकर्षक देखिन्छ । झरनाको माथिल्लो तहदेखि बाजाढुङ्गा जोड्ने पदमार्ग, उद्यान, गोलघर र दृष्य अवलोकन स्थल बनाउन लागिएको छ ।
हिर्काउदा बाजाको आवाज सुनिने बाजाढुङ्गा परिसरदेखि रूपसे झरना, अन्धगल्छी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण र धौलागिरि हिमालको बिचबाट बग्ने कालीगण्डकी नदीले कटान गरेर बनाएको संसारकै गहिरो खोच अन्धगल्छी रूपसे झरनाको नजिकै छ ।
२०७७ साउनमा रूपसे खोलामा आएको बाढीले त्यहाँ निर्माणाधिन पुल, होटल, पदमार्ग, लगायतका पूर्वाधार, पार्किङ गरेर राखिएका सवारीसाधन बगाउनुका साथै झरना र अन्धगल्छीलाई कुरूप बनाएको थियो ।
बाढीले क्षति पुर्याएका भौतिक संरचनाको पुनःनिर्माण र नयाँ पूर्वाधार थप गर्न लागिएको हो । झरना अवलोकन, तस्विर खिच्ने र भिडियो बनाउने क्रममा पर्यटक चिप्लिएर लड्ने, चोटपटक लाग्ने समस्या पूर्वाधार बनाएपछि हट्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।
मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रूपसे झरनामा घण्टौँ समय बिताउँछन् । रूपसे झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्वीर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडासदस्य लालबहादुर पुनले सुनाए । रासस
प्रतिक्रिया