शुक्रबार, जेठ ४, २०८१

वाह डलर, आह डलर !

नेपालखोज २०७९ कार्तिक ५ गते ८:००

एक अमेरिकी डलर बराबर १३१ रुपैयाँ ३८ पैसा, बाफ रे बाफ ! सुन्दै डरलाग्दो । डलरको मूल्यले अहिले २० वर्ष यता सर्वोच्च स्तर छोएको छ र यसको असर काठमाडौंदेखि कायरोसम्म महसुस गर्न थालिएको छ । यही कारणले संसारका कैंयन देशमा आर्थिक मन्दिको खतरा देखिएको छ भने डलरको बढ्दो मूल्यले आम मानिसको जीवनलाई समेत दुष्प्रभाव पारेको छ ।

यसले आयात-निर्यातको कारोबारमा संलग्नलाई सोझै प्रभावित गरेको छ । रुपैयाँको मूल्यमा आएको रेकर्ड गिरावट तथा कच्चा पदार्थ र सामानको ढुवानीमा बढेको मूल्यका कारण कतिपय सामानको मूल्यले आकास छुने स्थिति छ । जसका कारण ती सरसामानको बिक्री नै छैन ।

व्यावसायिहरु भन्छन् , ‘अहिले सम्पूर्ण आयात व्यापार नै खतरामा छ, सरकारसँग प्रयाप्त डलर छैन, बजारमा क्रेता छैनन् । पूरा सप्लाई चेन प्रभावित भएको छ भने यसबाट व्यावसायीहरू मारमा परेका छन् । कारोबार नै संकटमा छ ।’

मिस्रको राजधानी काहिरामा महँगी बढेको कारण सुरक्षा गार्डको काम गर्ने मुस्तफा गमालले आफ्नी श्रीमती र एक वर्षीया छोरीलाई गाउँ फिर्ता पठाएका छन् । शहरको खर्च घटाएर केही धन जोगाउनका लागि उनी परिवारसँग टाढिएका हुन् । २८ वर्षीय गमाल दुई ठाउँमा काम गर्छन् । अहिले उनी अरु कामदारहरुसँग रुम सेयर गरेर बस्न थालेका छन् भने उनले मासु पनि कम खान थालेका छन् । गमाल भन्छन् , ‘अरु कुनै उपाय छैन , हरेक सामानको मूल्य दोब्बर भइसकेको छ ।’

संसारभर असर
गमालको कथा संसारभरका करोडौं मानिसको व्याथा हो । अहिले बढ्दो महँगीको पीडा संसारको हरेक स्थानमा महसुस हुन थालेको छ । अहिले अटोपार्ट डिलर, केटाकेटीका लत्ताकपडा बेच्ने, लिकर इम्पोर्टर लगायत सबैको एउटै समस्या छ । त्यो समस्या हो डलरको बढ्दो मूल्यले स्थानीय मुद्रालाई लगातार कमजोर बनाइरहेको छ । जसकाकारण मूल्य वृद्धि भइरहेको छ । त्यसमाथि युक्रेनमा जारी युद्धको असरले ऊर्जा क्षेत्रमा ठूलो समस्या निम्त्याएको छ परिणामस्वरूप खाने-पिउने चिज नै मानिसको पहुँच बाहिर जान थालेका छन् ।

करनेल युनिभर्सिटीमा व्यापार नीति अध्यापन गर्ने प्रोफेसर ईश्वर प्रसाद भन्छन् , ‘डलर मजबुत भएको स्थितिमा बाँकी संसारको जीवन खराब हुन्छ ।’ यस्तै चिन्ता अरु आर्थिक विशेषज्ञहरुको पनि छ । अहिले डलरको बढ्दो मूल्यले सारा मुलुकहरुको अर्थव्यवस्थालाई आर्थिक मन्दीतर्फ धकेल्ने चिन्ताले सबैलाई पिरोलेको छ । त्यसको सुरुवात यही २०२३ को सुरुदेखि कुनै पनि समय हुन सक्छ उनीहरूको अनुमान छ ।

विभिन्न मुद्राहरुसँग अमेरिकी डलरको तुलनात्मक अध्ययन गर्ने आईसीई युएसडी इन्डेक्सका अनुसार यो अंग्रेजी वर्षमा अमेरिकी मुद्रा १८ प्रतिशतभन्दा बढी महँगो भएको छ । अमेरिकी डलरको मूल्य किन यसरी बढीरहेको छ त्यसको कारण स्पष्ट छ । अमेरिकामा बढ्दो महंगी नियन्त्रण गर्न त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाइरहेको छ । यही चालु आर्थिक वर्षमै कम अवधीको ब्याजदर पाँच पटक बढीसकेको छ र यसमा पनि थप वृद्धिको सम्भावना छ । यसका कारण अमेरिकी सरकार तथा अन्य कर्पोरेट ब्रान्डको उत्पादनको मूल्य थप महँगो भइरहेको छ ।

महँगो भयो आयात
डलर बलियो हुनुको असर संसारका सबै मुद्राहरुमा परिरहेको छ र ती मुद्राहरु डलरको तुलनामा कमजोर भइरहेका छन् । यसको सबैभन्दा खराब असर गरिब देशहरुमा परेको छ । यसक्रममा नेपाली रुपैयाँ डलरको तुलनामा करिब १० प्रतिशत तल झरेको छ । मिस्र देशको पाउण्ड २० प्रतिशत तथा टर्कीको लिरा २८ प्रतिशत तल झरेको छ ।

धनी देश पनि पीडित
यो समस्याले धनी देशहरूसमेत पीडित हुन थालेका छन् । युरोप पहिलेदेखि नै महँगो इन्धनको मारमा थियो । अब त्यहाँ मुद्रास्फीतिको प्रकोप छ । २० वर्ष यता पहिलोपटक एक युरोको मूल्य एक डलरभन्दा कम भएको छ । ब्रिटिस पाउण्ड गएको वर्षको तुलनामा १८ प्रतिशत तल झरेको छ ।

आमरुपमा जब कुनै मुद्रा डलरको तुलनामा कमजोर हुन्छ तब ती देशलाई केही फाइदा पनि हुन्छ । किनभने यसले उनीहरूको उत्पादन विदेशमा सस्तो हुन्छ र बढी बिक्छ । यद्यपी अहिले त्यस्तो पनि देखिएको छैन किनभने अहिले संसारभरका मानिसको खरिद क्षमता नै घटेको छ ।

मजबुत डलरले विभिन्न प्रकारले अर्थव्यवस्थालाई प्रभावित गर्छ । जस्तो :

  • डलरको मूल्य बढ्दा अन्य देशहरूमा आयात महँगो हुन्छ र पहिलेदेखि नै बढीरहेको मुद्रास्फीति थप तिव्र हुन्छ ।
  • डलरमा ऋणमा लिने कम्पनीहरू, उपभोक्ताहरू तथा सरकारहरू माथि ऋणको दबाब बढ्छ किनभने यसको भुक्तानीमा उनीहरूले बढी स्थानीय मुद्रा खर्च गर्नुपर्ने हुन्छ ।
  • केन्द्रिय बैंकहरुले ब्याजदर बढाउँनु पर्ने अवस्था आउँछ । उच्च ब्याजदरका कारण स्थानीय आर्थिक वृद्धि कमजोर हुन पुग्छ र बेरोजगारी पनि बढ्छ ।

प्रतिक्रिया