नेपाल पर्यटन बोर्डद्वारा दुबईमा नेपालको पर्यटन सम्भावना र गन्तव्य प्रदर्शन

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त अरब इमिरेट्स्को दुबईमा सम्पन्न ’अरबियन ट्राभल मार्केट (एटीएम) २०२५’ मा सहभागिता जनाउँदै नेपालको विविध पर्यटन गन्तव्य र सम्भावना प्रदर्शन गरेको छ ।
अप्रिल २८ देखि मे १, २०२५ सम्म दुबई वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावनालाई प्राथमिकताका साथ प्रवद्र्धन गरेको हो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलको नेतृत्वमा वरिष्ठ अधिकृत जयशक्ति सर्राफ र गोकुल भण्डारी सहभागी प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट तथा सञ्चारकर्मीसँग विभिन्न व्यवसायिक भेटघाट (बीटुबी) गर्दै नेपालको पर्यटन विशेषता प्रस्तुत गरेका थिए ।
मेलामा नेपाल पर्यटन बोर्डले ब्रोशर, यात्रा गाइड र परम्परागत नेपाली हस्तकला सामग्री वितरण गरी नेपालको पर्यटकीय विविधता र अनुभवलाई प्रवद्र्धन गरेको थियो । एटीएमजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मेलाले नेपाललाई विश्वव्यापी पर्यटन बजारमा हिमाली सौन्दर्य, समृद्ध सांस्कृतिक विरासत तथा साहसिक र वातावरणमैत्री पर्यटन अवसरहरू प्रस्तुत गर्ने महत्वपूर्ण प्लेटफर्म उपलब्ध गराएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डसँगै १२ वटा निजी क्षेत्रका नेपाली यात्रा तथा पर्यटन कम्पनी समेत एटीएम-२०२५ मा सहभागी भएका थिए । सहभागी संस्थामा नमस्ते टुरिज्म एन्ड होलिडेज प्रा.लि., कोरा टुर्स प्रा.लि., द हिमालय ट्रेकिङ, गो नेपाल ट्राभल, नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, एक्सपेडिशन हिमालय डटकम, येस यात्रा टुर्स, ड्रेगन होलिडेज, इनक्रेडिबल माउन्टेन्स, द एभरेष्ट होटल, सुमेघ टूर्स एन्ड ट्राभल्स र चन्द्रगिरी हिल्स लिमिटेड रहेका थिए । निजी क्षेत्रको सक्रिय सहभागिताले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाएको बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलले एटीएम-२०२५ को सहभागिताबारे प्रतिक्रिया दिंदै भने, “एटीएम-२०२५ जस्ता कार्यक्रमले नेपाललाई नयाँ बजारमा चिनाउने अवसर प्रदान गर्छन् । यस्ता मेलाहरूमा हुने सहभागिता नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण छ ।“
नेपाल पर्यटन बोर्डले आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय प्लेटफर्महरूमार्फत नेपालको पर्यटन गन्तव्यलाई प्रवद्र्धन गर्ने र रणनीतिक साझेदारी विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया