एनआरएनलाई परराष्ट्रमन्त्रीको आग्रह-एकजुट भएर अगाडि बढ्नू

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकजुट भई अगाडि बढ्न आग्रह गरेकी छन् ।
आज यहाँ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उनले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गरिन् । उनले एनआरएनको उद्देश्य पूरा गर्नका लागि एकबद्ध भई सक्रियतापूर्वक लाग्न र त्यसका लागि आफू र परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले पछिल्लो समय एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशानुसार भइरहेको एकता महाधिवेशनलाई सफल पार्न भूमिका खेल्ने सबै धन्यवादको पात्र भएको उल्लेख गरिन् ।
परराष्ट्रमन्त्री डा। राणाले विदेशमा रहेर नेपालप्रति देखाएको भावना आफूले बुझेको उल्लेख गर्दै विश्वमा नेपाली संस्कृति, खाना र पहिचानलाई फैलाउन निर्वाह गरेको भूमिका सराहनीय भएको बताइन् ।
उनले नेपालसँग स्रोतसाधन भए पनि विश्वमा विकास भइरहेको प्रविधि, नयाँ व्यवस्थापकीय कला र पुँजीको अभाव भएकाले त्यसको पूर्ति गैरआवासीय नेपालीहरूले गर्न सक्ने उल्लेख गरिन् ।
प्रतिक्रिया