आइतबार, वैशाख २१, २०८२

‘एनआरएनएलाई एकताबद्ध बनाएर अघि बढाऔँ’

नेपालखोज २०८२ वैशाख २० गते १८:१३

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिइएको छ । गैरआवासीय नेपाली सङ्घ उच्चस्तरीय समितिले आज यहाँ आयोजना गरेको एकता महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एकताबद्ध हुँदै एनआरएनएले नेपालमा आएर लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

संविधानसभाबाट बनेको संविधानमा गैरआवासीय नेपालीलाई नागरिकताको अधिकार भए पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको धारणा राखे । संविधान संशोधन गरेर भए पनि गैरआवासीय नेपालीलाई समान अधिकार दिनुपर्ने भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले गाउँगाउँमा हजारौँ बिघा जग्गा बाँझो रहेको अवस्थामा दुई रोपनीभन्दा बढी जग्गा किनेर लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई रोक्न नहुने जिकिर गरे ।

व्यक्तिको राजनीतिक विचार हुने भए पनि एनआरएनएमा सङ्कीर्ण राजनीतिक सोच हुन नहुनेमा उनको जोड थियो । जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राईले एनआरएनएले विप्रेषणमात्र नभई लगानी पनि भित्र्याएकाले दुरुत्साहन गर्न नहुने बताए । एनआरएनएको नागरिकता समस्यालाई सरकारले तत्काल समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया