पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँठाउँमा वर्षा

काठमाडौं । नेपालको पश्चिमी भू-भागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गरे ।
आज साँझ गण्डकी प्रदेशस्थित गोरखाको हिमाली तथा पहाडी भेगबाट र दार्चुलास्थित सीमा क्षेत्रबाट सुदूरपश्चिमको हिमाली तथा पहाडी क्षेत्रको बाटो हुँदै बादल छिरिसकेको उनले बताए । बादल हिँडेको बाटोमा वर्षा भइरहेको छ ।
अहिले नेपालमा स्थानीय र पश्चिमी वायु विकसित छ । अहिले पनि लुम्बिनी र गण्डकीका थोरै भूभागमा पानी परिरहेको मौसमविद् अधिकारीले जानकारी दिए ।
आज दिउँसो बागमती, गण्डकी, मधेश प्रदेश सुदूरपश्चिमलगायत हरेक प्रदेशका केही भागमा पानी परेको थियो भने बागमती र गण्डकीमा अलि बढी पानी परेको पनि अधिकारीले जानकारी दिए ।
उनका अनुसार आइतबार र सोमबार पनि बदली रहेको र आजको भन्दा केही बढी बदलीको सम्भावना रहेको छ । हल्कादेखि मध्यमसम्म वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उनले बताए ।
प्रतिक्रिया