शाक्यको ‘करूणा’माथि धुलिखेलमा विमर्श

नेपालखोज २०८२ वैशाख २० गते २१:२८

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यद्वारा लिखित ‘करूणा’ आत्मकथामाथि आज काभ्रेपलाञ्चोकको धुलिखेलमा विमर्श गरिएको छ ।

कार्यक्रमका वक्ताहरूले करूणामा प्रस्तुत जीवन भोगाइका फरकफरक विषयले मानव जीवनको सबै विषयमा करूणा झल्किएको विचार व्यक्त गरे । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले करूणा आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिँदै करूणा अनन्त कथा–व्यथाको सागर रहेको उल्लेख गरे ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करूणाले ‘तिम्रो छातीमा दया, माया, करुणा सबै छ, त्यसलाई नजिकबाट अनुभूत गर’ भनी झक्झकाउने तथा मानिसभित्रको इमान्दारिता, करुणा, माया, दयाको झल्को दिनाका साथै सत्यको पथमा अघि बढ्न प्रेरित गर्ने बताए ।

उनले जीवनमा जन्मदिने आमाबुबा, पिता र पतिको महत्व, युवापुस्तालाई पठन संस्कृतिमा आकर्षण गर्न, देशको माटोप्रतिको प्रेमलाई अनूभूति हुने गरी प्रस्तुत गरिएको बताए ।

करूणा विमर्शमा लेखक शाक्यले आफूले जीवनमा पञ्चायत, बहुदलीय प्रजातन्त्र, गणतन्त्र देखेको र महसुस गरेको कुरा तथा देशको अवस्थालाई वर्तमान युवा र आगामी पुस्तालाई जानकारी दिने उद्देश्यले आत्मकथा लेखेको बताए । उनले आफ्ना श्रीमान् प्रधानमन्त्री ओलीकै प्रेरणाले आत्मकथा लेख्न सफल भएको बताए ।

प्रतिक्रिया