मंगलबार, वैशाख २३, २०८२

‘नीति तथा कार्यक्रममाथि सत्ता पक्षको समर्थन, विपक्षीको आलोचना’

नेपालखोज २०८२ वैशाख २३ गते १७:००

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्ष र विपक्षी सांसदहरुले नीति कार्यक्रमको समर्थन र आलोचना गरेका छ ।

राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसदहरुले नीति तथा कार्यक्रमले दिगो आर्थिक विकासको लक्ष्य लिएको, जनतामा आशा जगाएको तथा विकासको ढाँचा बदल्ने सङ्कल्प लिएको बताए । विपक्षी सांसदहरुले नीति तथा कार्यक्रमले जनअपेक्षा पूरा गर्न नसक्ने र शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने टिप्पणी गरे ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद इन्दिरादेवी गौतमले संविधान जारी भएपछिको पहिलो सरकारले सुरु गरेका आर्थिक विकास र समृद्धिका लागि रुपान्तरणकारी योजनालाई नीति तथा कार्यक्रममा निरन्तरता दिइएको बताए । त्यसयता थालनी गरिएका राम्रा कार्यक्रम तथा नीतिलाई अघि बढाउने प्रतिबद्धता यसमा प्रस्ट देखिन्छ, उनले भने । एमाले सांसद सुमित्रा बिसीले मुलुकको आर्थिक स्थितिअनुसार कार्यान्वयन गर्न सकिने कार्यक्रम मात्रै नीति तथा कार्यक्रममा समेटिएको बताए ।

विगतका नीति तथा कार्यक्रममा आएका विषय कार्यान्वयन नहुँदा जनतामा नैराश्यता पैदा भएको अवस्था अन्त्य गर्न अहिले प्राथमिकता तोकेर कार्यान्वयन गर्न सकिने विषय मात्रै नीति तथा कार्यक्रममा आएको उनको भनाइ छ । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले प्रस्तुत नीति तथा कार्यक्रम विगतभन्दा फरक ढङ्गले आएको उल्लेख गर्दै नीति तथा कार्यक्रमले शिथिल अर्थतन्त्र चलायमान बनाउने, विकास निर्माणको ठोस कार्यदिशा अघि सार्ने र नागरिकमा रहका निराशालाई चिरेर आशा जगाउने विश्वास व्यक्त गरे ।

कांग्रेसकै सांसद जीतजङ्ग बस्नेतले समावेशी र दिगो आर्थिक वृद्धि तथा उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धिलगायत थुप्रै योजना नीति तथा कार्यक्रममा समेटिएका बताए । कांग्रेस सांसद कमला पन्तले आर्थिक समाजिक रुपान्तरण, दीर्घकालीन राजनीतिक स्थिरता, सुशासन र न्यायपूर्ण समाज तथा नतिजामूलक आर्थिक विकासलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम आएको बताए । कांग्रेस सांसद युवराज शर्माले तीव्र आर्थिक विकास र सुशासन प्रवद्र्धनको भरोसा दिलाउँदै नीति तथा कार्यक्रम प्रस्तुत भएको बताए ।

कांग्रेस सांसद गुर्गा गुरुङले जनतामा पैदा भएको निराशा चिर्ने, राज्यप्रतिको भरोसा बढाउने, आर्थिक गतिशीलतालाई बढवा दिने, भ्रष्टाचार नियन्त्रण गर्दै दण्डहीनताको अन्त्य गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम आएको बताए । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गङ्गाकुमारी बेल्बासेले नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसकेको, राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजना निर्धारित समयमै सम्पन्न गर्ने योजना नआउनु विडम्बना भएको बताए ।

प्रतिक्रिया