पशु कल्याणबारे सोच्न बाध्य पार्ने ‘काली भैँसी’ !

गण्डकी । भैँसी गुनिलो थियो र दूधालु पनि । घरमुलीले उसलाई मायाले ‘काली’ भन्थे । भैँसी अर्को महिना ब्याउने थियो । यो भैँसी बागलुङ, ताराखोला गाउँपालिका–१ भुस्कातकी माया विकले ऋण काढेर किनेकी थिइन् । गोठमा उसैले जन्माएको डेढ वर्षको राँगो पनि थियो । गत बुधबार मध्यराति गोठमा अचानक आगलागी भयो ।
राँगो उतिबेलै जलेर म¥यो । गम्भीर घाइते भएको गर्भवती भैँसीलाई परिवार र छिमेकी मिलेर उद्धार गरे । भैँसीको अधिकांश बाहिरी भाग जलेको थियो । दुवै आँखा फुटेका थिए । भैँसी न खान सक्ने न कराउन सक्ने अवस्थामा थियो । नाक र मुखबाट फिँज आइरहेको थियो । एकातिर जलनको पीडा र अर्कातिर पेटमा हुर्किरहको गर्भ । त्यो अवोध भैँसीले त्यति कष्टसाध्य क्षण कसरी गुजा¥यो होला ! मानवीयता भएका जो कोहीका लागि त्यो दृश्य हृदयविदारक थियो ।
आगलागीको घटना थाहा पाएपछि पोखरामा बस्ने विकका छोरा सनम अर्कोदिन घर पुगे । उनी गाउँ पुग्दा गोठ खरानी भएको थियो । आमाको प्रिय भैँसी ‘काली’ अतिसय पीडा सहेर बाँचिरहेको थियो । उसलाई बचाउन परिवारले सक्दो प्रयास गरे । पशु चिकित्सकलाई बोलाएर देखाए । बाँच्ने सम्भावना नभएपछि चिकित्सकले भैँसीलाई ‘युथोनाइज’ दिएर पीडारहित तरिकारले मृत्युवरण गराए । पेटमा भएको पाडोलाई चिरेर निकाले । धड्कनको चाल महसुस गर्दागर्दै पाडोको पनि मृत्यु भयो ।
गोठ नजिकै बारीमा खाल्डो खनेर ‘काली भैँसी’ र उसको गर्भबाट निकालिएको पाडोलाई सँगै राखेर अन्त्येष्टि गरियो । यसरी निर्दोष पशुको जीवन आगलागीमा परी समाप्त भयो । सनमले यही दर्दनाक घटनाको भिडियो फेसबुकमा साझा गरे । जसले धेरैको ध्यान खिच्यो । फेसबुकमा लाखौँले उक्त भिडियो हेरेका छन् । फेसबुकमा साझा गर्ने र टिप्पणी गर्नेको सङ्ख्या पनि सयौँ छ ।
आगलागीबाट गोठ र पशुधन गुमाएका विक परिवारप्रति कैयनले सहानभूति प्रकट गरेका छन् । कतिपयले पशुप्रेम र पशु कल्याणका पक्षमा धारणा राखेका छन् । सनमले ‘तिमीले मेरा लागि दिएको यो बलिदान खेर जाने दिने छैन काली, हार्दिक श्रद्धाञ्जलि ! अपराधी नबचाऔ’ भन्दै उक्त भिडियो ‘पोस्ट’ गरेका थिए । सनमले ‘काली’ भैँसीलाई आमासँग तुलना गर्दै उ पनि गर्भमा रहेको बच्चाका लागि अन्तिम प्रहरसम्म बाँचेको उल्लेख गरेका छन् । ‘उनी पनि एउटी आमा हुन् । उनको श्राप र आँशु अवश्य लाग्नेछ’, सनमले भनेका छन् ।
आगलागी अरु कसैले जानाजानी लगाइदिएको विक परिवारको आशङ्का छ । ‘घरमा बुबाआमा मात्र हुनुहुन्थ्यो, उहाँहरू सुतेको बेला राति ११:३० बजेतिर गोठमा आगलागी भएको हो’, सनमले भने, ‘दुर्घटना या लापरबाहीका कारण नभई यो मान्छेले जानजानी नियतवश लगाएको हो, हामीले प्रहरी र वडा कार्यालयमा उजुरी दिएका छौँ, घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ ।’
‘काली भैँसी’को मृत्युपछि आमा बिह्वल बनेको सनमले सुनाए । भैँसीको अन्त्येष्टिका बेला उनकी आमा छेउमा बसेर रोइरहेको दृश्यले सबैलाई स्तब्ध पारेको थियो । वरिपरि जम्मा भएका मानिस त्यो बेला निःशब्द बनेका थिए । माया र स्याहारसुसारले पालेहुर्काएका पशुचौपायाको अनाहकमा मृत्यु हुँदा कस्को पो मन नरुँदो हो ! माया र उनको परिवारलाई पनि आज त्यही पीडाले सताएको छ । उक्त घटनाले पशुपक्षीप्रतिको मानवीय प्रेम र संवेदनालाई समेत उजागर गरिदिएको छ । पशु कल्याणबारे सोच्न मानिसलाई बाध्य पारेको छ ।
उक्त घटनाका प्रत्यक्षदर्शी र सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त घटनामा दुःख व्यक्त गरेका छन् । नियतवश आगलागीको घटना भएको भए छानबिन र न्यायका लागि उनीहरूले आवाज उठाएका छन् । घटना सार्वजनिक भएपछि विभिन्न ठाउँबाट सहयोग र सहानुभूति प्राप्त भइरहेको सनमले बताए ।
वडा र गाउँपालिका कार्यालयले राहतका लागि पहल अगाडि बढाएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ताराखोला गाउँ कमिटीले विक परिवारलाई भैँसी किनिदिन लागेको अध्यक्ष दिवस खत्रीले बताए । ‘आफन्त, शुभेच्छुकलगायतबाट आर्थिक सहयोग आउने क्रम पनि सुरु भएको छ, यो घटनाले धेरैलाई छोएको छ । आगलागीका बारेमा छानबिन हुनुपर्छ’, उनले भने ।
पशुचौपायाले सुरक्षित बाँच्न पाउने अधिकारप्रति सचेत हुन पनि यो घटनाले मानिसलाई सचेत गराएको छ । गण्डकी प्रदेशमा गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याइए पनि पशु कल्याणको पूर्ण सुनिश्चितता भने हुन सकेको छैन ।
घरायसी प्रयोजनका लागि पालिने गाईबस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट हुने भएकाले ठूला व्यावसायिक गाईभैँसी फार्मलाई लक्ष्य गरी मापदण्ड बनाइएको हो । उक्त मापदण्डले गाईभैँसीलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव हुन नदिने, पीडा, चोटपटक र रोगव्याधिबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गरेको छ । गाईभैँसीलाई गरिने निर्दयी व्यवहार रोक्ने र उनीहरूप्रति मानिसले निभाउनुपर्ने जिम्मेवारी र उत्तरदायित्वलाई मापदण्डले समेटेको छ ।
मापदण्डमा आहार, गोठ व्यवस्थापन, ढुवानी गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषय उल्लेख छन् । नवजात पाडापाडी र बाच्छाबाच्छीलाई मार्ने नियतले सुकेनास गराउने, भोकै राख्ने, फाल्ने आदि गरेमा पशुप्रति निर्दयी व्यवहार भएको ठहर्ने मापदण्डमा जनाइएको छ । गाईभैँसीलाई घाउचोट लाग्ने गरी हिर्काउन, नाक, खुट्टा बाँध्न, पुच्छर बटार्न र छाडा छोड्न नपाइने मापदण्डमा उल्लेख छ ।
गाईभैँसीलाई तापजन्य असुविधा हुन नदिन गर्मीयाममा पङ्खा या ‘फोगर’ र जाडोयाममा थप सोत्तरको व्यवस्था गर्नुपर्ने उल्लेख छ । पशुपक्षीलाई पनि मानवताको व्यवहार चाहिनेमा पशु अधिकारकर्मीले जोड दिँदै आएका छन् । खुसी र स्वतन्त्रतापूर्वक बाँच्न पाउने पशुपक्षी अधिकारको संरक्षण हुनुपर्नेमा उनीहरूले जोड दिइरहेका छन् । कानुनी प्रबन्ध नभएका कारण पनि हिंसा र अत्याचारमा परेका पशुपक्षीको न्याय चुनौतीपूर्ण बन्दै जानकारहरू बताउँछन् । -रासस
प्रतिक्रिया