हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

दोधारा चाँदनी (कञ्चनपुर) । हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ । कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो । केही भागमा विवादका कारण निमार्ण ढिलाइ भएपनि ४४ किमी सडक कालोपत्र भएको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले राजमार्गको तीन वटा खण्ड मध्ये एउटा खण्ड निमार्ण सम्पन्न भएको जानकारी दिए । पहिलो खण्डमा मर्मत र रङ्गरोगनको काम मात्र बाँकी छ । अन्य दुई खण्डको कालोपत्रेको काम पनि अन्तिम चरणमा छ । बेलौरीको ककत्तामा केही विवादका कारणले दोस्रो खण्डको ८८ मिटर सडक निमार्ण हुन सकेको छैन । उनले भने–उक्त ठाउँमा विवाद भइराख्ने भएकाले निमार्ण कम्पनीले काम गर्न सक्ने अवस्था छैन ।
‘बाइस किमीको तेस्रो खण्डमा ११ किलोमिटर कालोपत्रेको काम बाँकी छ । डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किमी ३६ करोड ४७ लाखमा निमार्णभएको हो । बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो खण्ड २० किमी प्याकेजको लागत ४१ करोड ४१ लाख छ । हुलाकी सडकको तेस्रो खण्ड बेल्डाडीदेखी दैजीसम्म २२ किमी सडक रहेको छ । दक्षिणी क्षेत्रका नागरिकले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो भएर धनगढी हुँदै आउनुपर्ने बाध्यता थियो । सरकारले डोकेबजारदेखी बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किमी हुलाकी सडक निमार्ण गरेपछि भने यहाँका नागरिकलाई राहत मिलेको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुर्नवास र बेलौरी नगरपालिका लालझाडी र बेल्डाडी गाउँपालिका गरि चार पालिका छन । चार वटै पालिकाको दक्षिणतर्फ भारतीय खुल्ला सिमानाका छ । अर्कोतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण यहाँका नागरिकको सहज पहुँच महेन्द्रनगरसम्म थिएन । २०६२/६३ सम्म पनि यातायातको असुविधाका कारण यहाँका नागरिकहरु पैदलमार्ग भएर महेन्द्रनगर सदरमुकाम आवतजावत गर्थे । वर्षातको समयमा यातायात सेवा बन्द हुँदा बेदकोटको दैजीदेखी बेल्डाडीसम्म पैदल आवतजावत गर्नुपर्ने बाध्यता थियो । यहाँका स्थानीय सन्तोष विष्टले भने,’त्यो बेलाको पैदल मार्ग पछि हुलाकी राजमार्गमा परिणत भएको हो ।
सडक सञ्जालको विस्तार गरी आर्थिक–सामाजिक विकास, व्यापार सहजीकरण मार्फत आर्थिक समृद्वि हासिल गर्ने योजना अनुसार सरकारले हुलाकी राजमार्ग निमार्ण गरेपछि यसले आर्थिक एवं सामाजिक परिवर्तन ल्याएको शिक्षक केवश विष्ट बताउँछन ।
प्रतिक्रिया