प्रतिनिधिसभा विशेष समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले खेलकुद क्षेत्रको विकास, कृषि उत्पादन प्रवद्र्धन तथा दक्षिण एसियाली मुलुकमा विकसित भइरहेको तनावलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले सप्तरीको राजविराजस्थित रङ्गशालाको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न सरकारसमक्ष माग गरिन् । उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्न ७० जिल्ला अगाडि रहेको भन्दै राजविराजभित्रै एक क्रिकेट अनुसन्धान केन्द्र स्थापना गर्न सरकारसमक्ष माग गरिन् ।
जनमत पार्टीका सांसद अबदुल खानले बर्दिया जिल्लामा मानव र वन्यजन्तुवीचको द्वन्द्वले प्रत्येक महिना मानिसको मृत्यु र घाइते भएकाले यस विषयमा सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए । उनले नेपालभरिमा नै कृष्णसार क्षेत्र बर्दियामा मात्रै भएकाले यसको संरक्षणमा सरकार लाग्नुपर्ने जनाउँदै बर्दिया जनताको लागि भेन्टिलेटर सहितको अस्पताल, यातायातको व्यवस्था, कृषकको समस्यालगायतको व्यवस्थापनको लागि आवश्यक बजेट छुट्याउनुपर्ने माग गरे ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेखा यादवले कृषि प्रधान मुलुक नेपालमा कृषि उत्पादन प्रवद्र्धन र विषादीरहित उत्पादनको सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । उनले आयातित कृषिउपजको गुणस्तर परीक्षणको व्यवस्था गर्न पनि माग गरिन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल सुरुदेखि नै असंलग्न परराष्ट्र नीतिको अवलम्बन गर्दै आएको र बदलिँदो परिस्थितिमा आतङ्कवादको विरुद्ध सहकार्यको नीति अवलम्बन आवश्यक रहेको धारणा राखे । उनले आतङ्कवाद विरुद्धको सहकार्यको नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया