दोलालघाटदेखि पचुवारघाटसम्म नेपालमै पहिलोपटक रिभर ट्यूबिङ

काठमाडौं । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ ।
रिभर ट्यूबिङ्ग बारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ ।
नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । शुरुवती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएको थियो ।
’माझी किङ’ यमन माझी रिभर ट्युबिङ नेपालका फाउण्डर हुन । उनका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो ।
उनले भने, ‘नेपालमा पहाडी गन्तव्यहरू र ट्रेकिङ्गका थुप्रै विकल्पहरू भए पनि नदीमा रमाउने सुविधाहरू सीमित छन् । हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं ।’
रिभर ट्यूबिङ्ग प्याकेजमा सहभागी हुनेहरूका लागि खानपान र यातायातको व्यवस्था समेत समेटिएको छ । दोलालघाटमा सुरु हुने यो यात्रामा स्थानीय परिकारहरू पनि स्वाद लिन सकिनेछ ।
प्रतिक्रिया