एकताको सन्देश सहित एनआरएनएको नयाँ कार्यसमिति भेटघाटमा सक्रिय

काठमाडौं । सम्मानित सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमिति अहिले राजनीतिक नेतृत्वसँग महत्त्वपूर्ण भेटघाटमा व्यस्त छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान र संस्थाको एकतालाई संस्थागत गर्न कार्यसमिति लागिपरेको छ ।
गत वैशाख २० र २१ गते होटेल हायातमा सम्पन्न महाधिवेशनमा अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वको टिम सर्वसम्मत चयन भए लगत्तै कार्यसमितिले आफ्नो पहिलो बैठकबाटै बाहिर रहेका अभियन्तालाई पनि समेटेर लग्न प्रयास सुरु गरेको छ । कार्यसमितिले राष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेट गर्दै एनआरएनका मुद्दाहरूमा ध्यानाकर्षण गराइरहेको छ ।
निर्वाचित भएको भोलिपल्ट सोमबार नै अध्यक्ष श्रेष्ठ नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरी अधिवेशन र निर्वाचन प्रक्रियाबारे जानकारी गराएको थियो । राष्ट्रपति पौडेलले एक लिखित मन्तव्य दिँदै एनआरएनएभित्र देखिएको विवाद समाधान गरी संस्थालाई एकताबद्ध बनाउन नेतृत्वले थप सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।
अध्यक्ष श्रेष्ठसँगै संघका पूर्व अध्यक्ष भवन भट्ट, उच्चस्तरीय समितिका सदस्य कुल आचार्य, रबिना थापा, विनोद कुँवर, जानकी गुरुङ, एनआरएन अभियन्ता आर के शर्मा, डी बी क्षेत्री, उपाध्यक्ष सुनिल साह, बुद्धि सुवेदी, मनोज गोर्खाली, महासचिव बी आर लामा, प्रवक्ता गंगाधर गौतम लगायतका पदाधिकारीले सोही दिन नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सबै एनआरएनलाई समेटेर लैजाने योजना सुनाए । देउवाले पनि तत्काल एकताको अभियान सुरु गर्न आग्रह गरे । उक्त टोलीले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाश शरण महत, जनसम्पर्क समन्वय विभाग प्रमुख किरण पौडेलसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको थियो ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै छुटेका साथीहरूलाई समेत गोलबद्ध गर्न आह्वान गरिन् । उनले अदालतमा विचाराधीन मुद्दाहरूलाई प्रक्रियागत रूपमा टुङ्ग्याउन मन्त्रालय प्रतिबद्ध रहेको बताइन् । मन्त्री राणाले तपाईँ एनआरएन नेपालका ’मानार्थ राजदूत’ हुनुहुन्छ भन्दै नेपाल सरकारसँग सहकार्य गरेर देशको उन्नतिमा योगदान दिन आग्रह गरिन् ।
याे अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईले एकताका लागि पहल गर्न कार्यसमितिलाई आग्रह गर्दै मन्त्रालय सहकार्य गर्न तयार रहेको जानकारी गराए । उनले एनआरएन ऐनबारे सुझाव दिन पनि अनुरोध गरे ।
प्रतिक्रिया