शुक्रबार, वैशाख २६, २०८२

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’

नेपालखोज २०८२ वैशाख २६ गते १५:२१

ललितपुर । किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै सरोकार भएकाहरूले ध्यानाकर्षण गराएका छन् । केन्द्रीय दूध उत्पादक सहकारी सङ्घद्वारा आज यहाँ आयोजित दुग्धजन्य क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानसम्बन्धी अनुशिक्षण कार्यक्रममा यसरी ध्यानाकर्षण गराइएको हो ।

कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले कृषि र किसानको प्रोत्साहनका लागि उत्पादनलाई हेरेर अनुदानको व्यवस्था गरिने बताए । ‘किसानको हितभन्दा बाहिर गएर सरकारबाट काम हुँदैन, बाहिरबाट आयात गर्नेभन्दा पनि देशभित्रै उत्पादन गरेर व्यवस्थापन गर्नेतर्फ ध्यान दिनुपर्नेछ । नीति तथा कार्यक्रम र बजेट आउने तयारीमा छ, जनताले महसुस गर्नेगरी योजना तय गर्नेछौँ,’ उनले भने ।

मन्त्री श्रेष्ठले हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल भइरहेका भन्दै बचतकर्ताको रकम फिर्ताका लागि समन्वय भइरहेको बताए । उनले सङ्घीयताको सबलीकरणका माध्यमबाट तीनै तहका सरकारले ध्यान दिनुपर्ने र चालुभन्दा पुँजीगत खर्चलाई बढवा दिँदै जनअपेक्षा सम्बोधनमा लाग्नुपर्ने आवश्यकता औँल्याए । 
गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले दूध उत्पादन तथा प्रशोधनमा काम गर्ने सहकारीहरूले नगरभित्र कुनै पनि समस्या भोग्नुनपर्ने बताए । महर्जनले विदेशमा उत्पादित चिसो पेयपदार्थभन्दा स्थानीय दुग्धजन्य उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष पदमानारायण देवकोटाले किसानको पैसा नदिने उद्योगीले आफ्नो स्टक देखाएर भुक्तानी रोक्ने कार्य उचित नभएको बताए । किसानबाट दूध सङ्कलन गरेका उद्योगीले छ महिनासम्म भुक्तानी रोकेर राख्दा किसानले आन्दोलनमा जानुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

प्रतिक्रिया