निकुञ्जमा गैँडा हेर्ने समय

चितवन । गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न पुगेकी खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले ३५ वटा हाराहारी एकसिङ्गे गैँडा देखिन् । उनले एउटै घाँसे मैदानमा आठ वटा गैँडामात्र देख्नु भएन ढुक्कसँग बाघ हेर्ने अवसरसमेत पाइन् ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा घुम्न आउनेहरू यतिबेला दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालुजस्ता जनावर हेर्न पाउँदा फुरुङ्ग हुने गरेका छन् । खैरहनी नगरपालिकाका–१९ जना कार्यपालिका सदस्य र १२ जना कर्मचारीले एकैसाथ ठूलो सङ्ख्यामा गैँडा र बाघ हेर्ने अवसर पाएको उप्रेती बताइन् । उनले भनिन्, हामीले कसराबाट टाइगरटप्स जाँदै गर्दा एउटै घाँसे मैदानमा आठ वटा गैँडा देख्यौँ । फर्कंदा बाघ र भालु पनि देख्यौँ, घोरल, सिंहकोब्राजस्ता वन्यजन्तु देखेको उनले बताइन् ।
निकुञ्जभित्र पर्यटक बोक्ने जिप चलाउँदै आएका सोम तामाङ गत एक महिनायता दैनिक एउटा न एउटा जिपमा गएका पर्यटकले बाघ हेर्ने अवसर पाएको बताए । उनले भने, टाइगरटप्स पुगेर फर्कंदा ३० भन्दाबढी गैँडा देख्न सकिन्छ । सौराहाबाट मात्र निकुञ्जभित्र ३२ वटा जिप चल्दछन् । यससँगै कसरा, मेघौली, माडी र नवलपरासी तर्फबाट होटलहरुका जिप निकुञ्ज छिर्ने गर्दछन् । दिउँसो १२ देखि १ बजेको समयमा गर्मीका कारण गैँडा आहाल खेल्न पोखरीमा पस्ने हुँदा कम देखिने भए पनि अन्य समयमा निकुञ्जका विभिन्न ठाउँमा सजिलै गैँडा देख्न सकिने उनले बताए ।
सामुदायिक वनमासमेत सहजै गैँडा देखिन थालेको छ । सौराहाका निजी हात्तीहरू व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा यो दुर्लभ वन्यजन्तु हेर्ने उपयुक्त समय भएको बताए । मध्यवर्ती सामुदायिक वनमा हात्ती चढेर जाने पर्यटकले सहजै गैँडा देख्ने गरेको उनको भनाइ छ । उनले भने, अरूबेला बाघ हेर्न महिनाैँ कुर्नुपर्ने भए पनि अहिले बढीमा एक हप्तामा पर्यटकले सहजै बाघ देख्ने गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर सौराहा हेर्दै आएका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर गर्मीको समयमा गैँडा पानीका पोखरी र सिमसार क्षेत्रहरूमा आउने हुँदा सजिलै देख्न सकिने बताए । घाँसेमैदान व्यवस्थापन गरेका कारण बाघलगायत वन्यजन्तुसमेत सहजै देखिने गरेको उनको भनाइ छ ।
अन्य कतिपय समयमा दिनभर निकुञ्ज घुमेर एकसिङ्गे गैँडा हेर्न नपाएर पर्यटक फर्कनुपर्ने भए पनि अहिले सहजै वन्यजन्तु हेर्न पाएपछि निकुञ्ज र सामुदायिक वनमा जिप र हात्ती सफारी एवं डुङ्गा सयर गर्नेहरू वढेको व्यवसायीहरू बताउँछन् । यो निकुञ्ज नेपालमा पर्यटकका लागि सफारीको प्रमुख गन्तव्य हो । यहाँ दुर्लभ वन्यजन्तु बाघ, गैँडाजस्ता जनावर हेर्न तेस्रो मुलुक, सार्क र नेपाली पर्यटकहरू आउने गर्दछन् ।
प्रतिक्रिया