युवराज महेन्द्र र युवराज्ञी इन्द्र राज्य लक्ष्मीको विवाहको ऐतिहासिक क्षण

८५ वर्ष अगाडि वि.सं. १९९७ बैशाख २६ गते युवराज महेन्द्र र इन्द्र राज्य लक्ष्मीका बिच शुभविवाह सम्पन्न भएको थियो । युवराज्ञी इन्द्र १६ वर्षको उमेरमा दरवारमा बुहारी भएर भित्रिएकी थिइन् तर दरवारको कुनै सुख भोग भन्दा बढि १० वर्षमा ६ छोराछोरीको जन्म दिदै हुर्काउँदैमा २६ वर्षको उमेरमा संसारबाट नै बिदा भएकी थिइन ।
आषाढ कृष्ण पक्ष नवमीको दिन बि.सं. १९७७ जेठ ३० गते शुक्रवार नारायणहिटी राजदरवारमा कान्ती राज्यलक्ष्मीको कोखबाट जन्मनु भएका युवराज महेन्द्रको दुबै आमाहरु भारत सीतापुरबाट विवाह गरेर ल्याइएको हुँदा राणा परिवारसंग धेरै निकटता थिएन । त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महाराजा को थिए भन्ने महत्वपूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । युवराजको बाल्यकालमा दरवार भित्र नै शिक्षा दिक्षाको प्रबन्ध मिलाइएको हुँदा खासै बाहिर पनि सम्पर्क हुदैनथ्यो । दरवारमा शिक्षकको रुपमा कीर्तिराज दलीले दरवारमै शिक्षा दिन थालेका थिए । साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थालेका थिए । अंग्रेजीका सुविख्यात कविका कविताहरु पढाउन थालेका थिए । भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यापन गराउन लगाइयो । पण्डित दधिराम पनि दरवारमा पढाउन आइपुगे पछि दुबै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाउन लगाइयो । बिस्तारै संगीत तर्फ पनि रुचि देखाउन थाले पछि भुपालमानसिंहलाई शास्त्रिय संगीत सिकाउन लगाइयो । यसरी दरवार भित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुदै गए ।
पञ्चतन्त्रले जीवनलाई दुइ विपरित किसिमले बुझ्न सिकायो । कसरी एकअर्कोमा सन्तुलन राख्न सकिन्छ भने बुझे । साथै जीवनमा बिनम्र बन्न पनि सिकायो । कणिक नीतिका कथाहरु र शिक्षाहरुलाई बाल्यकालमा ध्यानसंग पढेका युवराजले आफ्नो राज्यकालमा राजनैतिक रुपले कणिक नीतिका नियमहरुको उपयोग गरेका थिए । कणिक धृतराष्ट्रका प्रमुख मन्त्री थिए, कणिकको सल्लाहमा नै धृतराष्ट्रले राज्य सञ्चालन गर्दथे । पाण्डवसंगको युद्धमा कौरवहरुले कणिकको सल्लाह नै लिने गर्दथे । यसरी धृतराष्ट्रलाई कणिकले दिने सल्लाहलाई कणिक नीति भन्ने गरिन्छ । यसमा राजनीतिमा बिरोधीसंग कसरी विजय गर्ने भन्ने सिकाइएको छ । पछि राजा महेन्द्रले कणिक नीतिको आधारमा नै राज्य सञ्चालन गरेका थिए ।
घोडचढीमा सिपालु रहेका युवराजको लागी सानो घोडा नै राखिएको थियो । राजा महेन्द्र युवराज छदै पनि उनको स्वभाव अलि भिन्न थियो । यस्तैमा युवराज महेन्द्र विरामी भएपछि दरवारमा सुसारेको ब्यवस्था पनि गराइएको थियो । दरवारमा सुसारेको रुपमा रुम्जाटारकी रम्बा गुरुङलाई ल्याइएको थियो । दरवार भित्र नै रहने हुँदा रम्बा गुरुङसंग निकट हुँदा गर्भवती बनाउन पुगे । दरवारमा जस्तो परिस्थिती भए पनि भ्रुणहत्या गरिदैनथ्यो । जसले गर्दा रम्बालाई दरवारले ल्याइतेको रुपमा स्विकार गरियो । केवल १३ वर्षको उमेरमा नै महेन्द्र बाबु बने । रम्बाको नाम दरवारले गीता राखिदियो र ल्याइते सरहको अधिकार दियो । यसरी आमा छोरालाई सम्पूर्ण खर्चको ब्यबस्था दरवारले गराइदियो तर राजपरिवारको सदस्यको अधिकारबाट भने बञ्चित नै राखियो । गीताबाट जन्मिएका छोरा रवीन्द्र बाबु जस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले आमालाई भने हेरेनन् । दरवारले चार जना नोकर सहित बार्षिक खर्च र बस्नलाई बत्तिसपुतलीमा घर दिएको थियो । तर महेन्द्रको देहावसान पछि यो खर्चमा कटौती गरियो ।
यसरी दरवार भित्रकी सेविकासंग नै लसपस भेटिए पछि युवराजको विवाह श्री ३ जुद्धशम्शेरको नातिनी तथा हरिशम्शेर तथा मेघकुमारी राज्य लक्ष्मीका छोरी इन्द्र राज्य लक्ष्मीसंग बि.सं.१९९७ बैशाख २६ गते गराइ दिए । युवराज्ञी इन्द्रको जन्म बि.सं. १९८१ साउन ११ गते भएको थियो । सोह्र वर्ष पुगेर सत्र मात्रै लागेकी इन्द्र राज्य लक्ष्मीको विवाहको सात महिना पनि नपुग्दै १९९८ मंसिर ५ गते जेठी छोरी शान्ति राज्य लक्ष्मीको जन्म भएको थियो । शान्ति पछि शारदाको जन्म भयो । दुइ छोरी पछि पून दुइ छोरा विरेन्द्र र ज्ञानेन्द्रको जन्म भएको थियो । यसपछि फेरी कान्छी छोरी शोभा र कान्छो छोरा धिरेन्द्रको जन्म भयो । युवराज्ञी इन्द्र दरवारमा जीवित रहुञ्जेल बच्चा जन्माउने मशिन जस्तै रहे । विवाहको केवल दश वर्षको अवधिमा अर्थात २६ वर्षको उमेरमा ६ सन्तानको आमा भइसकेकी थिइन ।
एक युवराज्ञीको रुपमा दरवार पुगेकी महिलाको त अवस्था यस्तो थियो त्यो बेला भने आम महिलाहरुको अवस्था कस्तो थियो होला । महिला भन्ने केवल सन्तान प्राप्ति गर्नु र ति सन्तानको हेरचाह गर्नु नै जीवनको प्रमुख काम हुन्थ्यो । यसरी छ सन्तान जन्माएकी युवराज्ञी इन्द्रको कान्छो छोरा अधिराजकुमार धिरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी इन्द्रको २००७ साल भदौ १९ गते देहावसान भयो । वहाँको देहावसान पछि तत्कालिन युवराज महेन्द्रले महिलाहरुका लागि छुट्टै प्रसुती अस्पताल खोल्नुपर्नेमा जोड दिए । यसरी युवराज महेन्द्रको चाहना छुट्टै अस्पताल भए पनि वीर अस्पतालमा नै प्रसुति विभाग पनि थियो । र महिलाहरुको उपचार पनि हुने गर्दथ्यो ।
पञ्जाव केशरी रणजीत सिंहको रानी जिन्द कौर अंग्रेजले पञ्जाव आफ्नो अधिनमा लिएपछि अंग्रेज विरूद्ध युद्ध हार्दा कैदमा परिन् । पछि कैदबाट भागेर नेपाल आइ जङ्गबहादुरसंग शरण मागेका थिए । जङ्गले पनि शरण आएकाको मरण गर्ने हुदैन भन्दै थापाथली दरवार नजिकै उनका लागि चारबुर्जा दरवार बनाइ दिएका थिए । पछि जिन्द कौर बेलायत प्रस्थान गर्न नेपालबाट कलकत्ता फर्किएपछि सो दरवार एक ब्राम्हणलाई दान दिएर गए । सो ब्राम्हणलाई केही रकम दिएर जङ्गबहादुरले सो चारबुर्जा दरवार शुरुमा बाबासाहेव नानासाहेवकी रानी काशी बाईलाई बस्ने ब्याबस्था मिलाइ दिएका थिए । यहि दरवारमा पछि ऐन खाना अड्डा राखेर जनताका फरियादहरु सुन्ने ब्यबस्था मिलाएका थिए । १९९० सालको भूकम्पमा चारबुर्जा दरवार भत्केपछि पूननिर्माण भएन ।
यहिँ ठाउँमा युवराज महेन्द्रले प्रसुति अस्पताल खोल्ने निधो गरि परोपकार संस्थासंग समन्वय गरेर २०१६ सालमा अस्पताल तैयार भयो । यस अस्पतालको नाम इन्द्र राज्य लक्ष्मी प्रसुति गृह राखिएको थियो । पछि परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल नाम राखियो ।
युवराज्ञी इन्द्रको देहावसान पछि युवराज महेन्द्रले युवराज्ञी इन्द्रको सम्झनामा गोकर्णको जंगल भित्र सम्झना सदन बनाउन लगाएका थिए । यदाकदा फुर्सद पायो भने सम्झना सदन पुग्दथे । युवराजले यसलाई शान्तीको आश्रयस्थल (Haven of peace) भन्दथे । यहि बेलाबेला साली रञ्जना पनि पुग्दथे । युवराज्ञी इन्द्रको देहावसान पछि युवराज साली रञ्जनाको नजिक रम्न थाले । बाबुसंग निहुँ खोज्दै साली रञ्जनासंग विवाह गर्न जिद गर्न थाले । बाबुले पहिलो विवाह तत्कालिन राणा श्री ३ जुद्धको नातिनीसंग गर्न बाध्य भए पनि देशमा प्रजातन्त्र आइसकेर राणाहरु अधिकारविहिन भइसकेको हुँदा राणासंग दोश्रो विवाह नगराउने ठानिसकेका थिए । भोली राजा बन्नुपर्ने युवराजको लागि भारतकै कुनै रियासतकी राजकुमारीसंग विवाह गराउने सोचमा थिए बाबु त्रिभुवन । छोराको जिद्दी पछि राजा त्रिभुवनले पनि माहिला छोरा हिमालयलाई राजगद्दीका हकदारको रुपमा युवराज घोषणा गर्ने तैयारी गर्न थालेका थिए । यता युवराज महेन्द्र पनि रञ्जनासंगको प्रेममा चुर्लुम्म डुबेर युवराजको पदबाट राजिनामा दिइ साधारण जनता सरह रञ्जनासंग नै जीवन बिताउने ठानिसकेका थिए । बिचमा कांग्रेसका नेता विपीले राजा र युवराज दुबैलाई सम्झाएर राजा त्रिभुवनलाई रञ्जना राणासंग विवाहको लागि मनाउन सफल भए । यसरी युवराजको दोश्रो विवाहमा राजी भए पनि पछि आउन सक्ने विवादको आकलन गरि दोश्रो विवाह पछि सन्तान पाउन नपाउने शर्त राखे । जसको लागि भनिन्छ विवाह पूर्व नै पाठेघर फ्याक्न लगाएका थिए । यो के कति सत्य हो भन्ने कुनै आधार नभए पनि विवाह पछि सन्तान नजन्माने शर्त भने रञ्जनाले स्विकार गरेका थिए । यसरी इन्द्र राज्य लक्ष्मीको देहावसानको दुइ वर्ष पछि २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न)संग विवाह गरेका थिए । राजा त्रिभुवन यस विवाहको लागी भित्र देखी नै खुशी थिएनन् । तसर्थ युवराज महेन्द्रले यो विवाह साथीसंगी र भाइहरुको साथ बागदरवारबाट रत्नलाई सिधै नागार्जुन दरवारमा लगिएको थियो । नारायणहिटी दरवारमा शुरुमा स्विकार गरिएन । हुन पनि पछि युवराज्ञी रत्नले दिदीका सबै सन्तानलाई आफ्नै सन्तान सरह हुर्काउनु भएको थियो ।
तस्बिरमा तत्कालीन युवराज महेन्द्र र युवराज्ञी इन्द्र राज्य लक्ष्मी विवाह समारोहको एक महत्वपूर्ण संस्कार सात फेरे लिनुहुँदै ।
प्रतिक्रिया