आमामाथि भएको विभेदले मलाई विद्रोही बनायो

सुर्खेत । कर्णालीका बिभिन्न जिल्लामा जन्मिएर यहीको राजनीतिमा जमेका राजनीतिकर्मी महिलाहरूले राजनीतिमा कर्णालीका छोरीहरूले जमेर बहस गरेका छन् । श्री ज्योति फाउन्डेसन र कर्णालीको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा उनीहरूले यो बहस गरेका हुन् ।
शनिबारदेखि सुर्खेतमा सुरू भएको कार्यक्रममा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले आफ्नो राजनीतिक यात्राको बारेमा बताएकी छिन् । उनले सबैका लागि शिक्षाको नारा कर्णालीका छोरीहरूको हकमा लागू हुन नसकेको बताइन । तर उनले आफूले भने पढ्न पाएको र त्यसैका कारण राजनीतिमा स्थापित हुन सकेको बताइन ।
’मैले बच्चा जन्मिसकेपछि १० कक्षा पास गरेको हूँ । झोला हुन्थेन । हातमा किताब समात्दै हुर्केको, पढेको हो । मेरो बुबा, आमा, श्रीमान, जेठाजुको प्रेरणाले नै पढ्न पाएको हो । मैले पढ्दा खासै कर्णालीमा छोरीहरु पढ्दैनथे सायद,’ उनले भनिन्, ’विकासको मुख्य मेरुदण्ड भनेको शिक्षा हो । चेतनाको विकास हो ।’
कार्यक्रममा राप्रपा नेता कुन्ति शाहीले पोथि बास्यो भने अनिष्ट हुन्न्छ भन्ने समाजमा हुर्किएका कारण आफूहरूलाई राजनीतिमा स्थापित हुन् संघर्ष गर्न परेको बताइन । ’इगो राखेर अध्ययन गरियो, स्कुलमा पनि । मेरो लक्ष्य थियो, वकिल बन्ने । म अहिले पनि वकालत गर्छु,’ उनले भनिन्, ’तर परिस्थितीले राजनीतिज्ञ बनियो । मेरो बुझाइ राजनीति सेवा हो भन्ने सिकाई थियो, अहिलेका जस्तो पैँसा कमाउन राजनीति गर्नुपर्छ भन्ने कुरा सिकाइएन ।’
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले समाजमा केही परिवर्तन गर्न सकिन्छ भनेर राजनीतिमा आएको बताईन । ’आमामाथि गरिएको विभेदले मलाई विद्रोही बनायो । त्यसको समाधान राजनीतिमा देखें । ०४६ सालको बहुदलपछि राजनीतिमा लागें,’ उनले भनिन्, ’१७ वर्षको उमेरमा जनयुद्धमा होलटाइमर भएँ । मर्नकै लागि हामी हिँडेको हो, संयोगले नाफाको जिन्दगी बाँचेको हो ।’ उनले महिलाले परिवार, पार्टी सबै एकै पटक चलाउन सक्छन् भन्ने विश्वासका कारण राजनीतिमा लागेको उनले बताइन ।
’म भन्छु कर्णालीका छोरीहरु असक्षम छैनन्, यहाँका महिलाहरु सक्षम छन्, भर्जिन् छन्, नयाँ तरिकाले सोच, चिन्तन गर्न सक्छन् । हामीले धेरै गरेर देखाउन सक्नुपर्छ,’उनले भनिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले बाबु आमाकै असहयोगका कारण विद्रोही भएर आफू राजनीतिमा लागेको बताइन ।
’मलाई फिल्म निर्देशक बन्न मन थियो । तर समाजमा विनिताले अन्य महिला पनि बिगार्ने भइ भन्न थाले । तर मैले आफै मेहनत गरें । म संघर्ष गर्न सक्छु भनेर बिजनेश गर्न मन लाग्यो,’ उनले भनिन् ’अलिकति सम्पत्ति दिनु न भन्दा आमाले दुई छोरा छन् भन्नुभयो । मैले कन्भिन्स् गर्न खोजें । अनि कानुन पल्टाएर उहाँहरुलाई यो हेर्नुहोस् मेरो देशले मलाई दिएको कानुन । मेरोअ धिकार हो । मलाई दिनुहोस् भनेर परिवारसँग लडें ।’
नेकपा एकीकृत समाजवादीका नेता कल्याणी खड्काले कर्णालीको छोरीहरुको परिवर्तनका लागि एउटा नीति बनाएरनै अघि बढ्नुपर्ने बताइन । ’कर्णाली सरकारले शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भनिन्, ’त्यसमा पनि छोरीहरुको मानव संशाधनलाई विकास गर्ने नीतिसहितको बजेट व्यवस्थापन गरी कार्यान्वयन गर्न आवश्यक छ ।’
प्रतिक्रिया