‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा रहेको नेवारी कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताएका छन् ।
नेपाल भाषा, एकेडेमीद्वारा आज यहाँ आयोजित ‘नेवाः प्रविधि र शिल्प ज्ञान पहिलो राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै उनले मुलुकका सांस्कृतिक धरोहरको संरक्षणमा ऐकेडेमीले गरिरहेको योगदान अनुकरणीय रहेको बताए ।
काठमाडौं महानगरका उपप्रमुख सुनिता डङ्गोलले नेपालको मौलिक संस्कृति र संस्कार बोकेको नेवार समुदायको परिचयका रुपमा रहेका खानपान, बाजागाजा, रहनसहन, जात्रा, वेशभूषा, कृषिकर्म र शिल्प ज्ञानलाई विज्ञान र आधुनिकतासँग जोड्नसके नयाँपुस्तालाई आफ्नो सभ्यता अघि बढाउन सहज हुने धारणा व्यक्त गरे ।
नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले नेवाः सभ्यता-नेवा प्रविधि-शिल्प ज्ञान विषयक कार्यपत्र प्रस्तुत गर्दै नेवारी समुदायले अभ्यास गरिरहेका चित्रकला, जात्रा, पर्व, नाटक, लेख, अनुसन्धान र खानपिन देशकै अमूल्य निधि भएको बताए । नेवार सांस्कृतिक समुदायका रूपमा पहिलेदेखि परिचित भए पनि नेवार एउटा सभ्यता हो, भनेर पुष्टि गर्न आजको कार्यक्रम पहिलो प्रयास भएको दाबी गरे ।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रतिनिधि राम मादेनले आदिवासी समुदायभित्र आफ्नो भाषा, संस्कृति, सभ्यता र पहिचान जोगाउने सूचीमा नेवार समुदाय अग्रस्थानमा रहेको उल्लेख गरे । प्रतिष्ठानका उपकुलपति पुष्पराज राजकर्णीकारले विश्वमै एउटा सभ्यताका रुपमा रहेको नेवारी समुदायले गर्दै आएका खेतीपाती, जात्रा, पर्व र शिल्पज्ञानलगायत प्राविधिक विषयलाई थप परिस्कृत गर्दै लैजान आवश्यक रहेको धारणा राखे ।
प्रतिक्रिया