छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित सडक छेउमा रोकी राखेको से.१ त ९६२३ नम्बरको ट्याक्टरको ट्रालीमा से.७ प ३२३२ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने ६५ वर्षीय लक्षिराम रिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ इन्द्रवतीस्थित सडकमा बा.४ ख ३३६३ नम्बरको टिपर आइतबार बिहान दुर्घटना हुँदा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ बस्ने ४८ वर्षीय लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । डोटीको केआई सिंह गाउँपालिका–४ बाजकोट बस्ने रमेश बिष्टको छोरा १३ वर्षीय शुशिल बिष्टको साइकलबाट लडेर शनिबार साँझ मृत्यु भएको छ । वायल बजारबाट साइकलमा घर फर्कने क्रममा लडेर गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ लोकहास्थित सडकमा लु.१३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–११ शान्तिटोल बस्ने २४ वर्षीय ईश्वर दर्लामी र २२ वर्षीय सागर दर्लामीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । कास्कीको रूपा गाउँपालिका–७ तालवेशीस्थित सडकमा ग.२१ प ५९९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका–११ बस्ने ४६ वर्षीय देबेन्द्र बास्तोलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पताल हुँदै पश्चिम क्षेत्रीय अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
झापाको दमक नगरपालिका–१ स्थित सडकमा ग.१ ख ६४३७ नम्बरको ट्रकले मे.८ प ४५५८ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिँदा स्कुटर चालक ताप्लेजुङ दोभान बस्ने २२ वर्षीय अंकित लिम्बुको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनालाई थप उपचारको लागि बिएनसि अस्पताल बिर्तामोड पठाइएको छ । प्रहरीले हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया