सोमबार, वैशाख २९, २०८२

गर्मी बढेसँगै सर्पको बिगबिगी

नेपालखोज २०८२ वैशाख २८ गते २०:१७

महोत्तरी । वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ । वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ ।

बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका उपचार टोली प्रमुख सैनिक प्राविधिक भोला चौधरीले वैशाख पहिलो सातामा दुई पटक वर्षा भएपछि त्यसयता गर्मी बढेसँगै सर्पदंशका घटना बढेका बताए । ‘सर्पदंशका घटना सबै महिनामा धेरथोर हुन्छन्, यहाँ साउनमा बढी हुने गरेको पाइएको छ’, उनले भने ।

केन्द्र सञ्चालन भएयता विगत १० वर्षको तथ्याङ्कअनुसार साउनमा बढी पानी परेकाले सर्पको बिगबिगी पनि बढ्छ । यहाँ २०७१ साउन ३१ गते स्थानीयको पहलकदमीमा सर्पदंश उपचार केन्द्र स्थापना भएको हो । नेपाली सेनाको गौरीडाँडास्थित रेडियो नेपाल सुरक्षा वेसमा खटिएको नेपाली सेनाको क्याम्पले उपचारकार्यका लागि तालिम प्राप्त ६ दक्ष प्राविधिकलाई केन्द्रमा खटाएको छ । व्यवस्थापन भने सर्पदंश उपचार केन्द्र बर्दिबासको कार्यसमितिले गर्दै आएको छ ।

वर्षेनी सर्पदंशबाट मानवीय क्षति बढ्दै गएपछि स्थानीयको पहलकदमीमा संस्था नै दर्ता गरेर उपचार प्रबन्ध थालिएको हो ।
केन्द्रले २०७१ साउन ३१ यता हालसम्म ३१ हजार १४७ जनाको उपचार गरिसकेको छ । आर्थिक वर्ष २०८०र८१ सम्ममा ३० हजार ८४७ जनाको तथा चालू आव २०८१र८२ को हालसम्म ३०० जनाको केन्द्रले उपचार गरेको छ । वैशाख महिनाको हालसम्ममा मात्र ४७ जनाको उपचार गरिएको प्राविधिक टोली प्रमुख चौधरीले बताए ।

केन्द्रमा महोत्तरीका अतिरिक्त सिन्धुली, सर्लाही, धनुषा, रामेछापलगथायतका जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन् । केन्द्रले औषधि, कार्यालय सञ्चालन र व्यवस्थापनको चाँजोपाँजो मिलाउने र नेपाली सेनाले उपचार गर्ने दक्ष प्राविधिक टोली उपलब्ध गराएपछि उक्त सेवाले निरन्तरता पाउँदै आएको छ ।

“नजिकमा भरपर्दो उपचार पाएर नयाँ जीवन पाइयो”, गोमन सर्पले डसेर केन्द्रमा उपचार गराइरहनुभएका गौशाला–१ रामनगरका ४२ वर्षीय सुरेशकुमार महतो भन्छन् । आर्थिक वर्ष २०८०र८१ मा ८८४, आव २०७९र८० मा ८७८, आव २०७८र७९ मा दुई हजार ९३१, आव २०७७र७८ मा चार हजार १९१, आव २०७६र७७ मा तीन हजार ९४७, आव २०७५र७६ मा तीन हजार ६४१, आव २०७४र७५ मा तीन हजार ५४२, आव २०७३र७४ मा तीन हजार ३९४, आव २०७२र७३ मा तीन हजार ३१० तथा आव २०७१र७२ मा तीन हजार १२८ सर्पदंशका बिरामीले उपचार लिएका केन्द्रले जनाएको छ । -रासस

प्रतिक्रिया