मंगलबार, वैशाख ३०, २०८२

साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता

नेपालखोज २०८२ वैशाख ३० गते ११:५९

काठमाडौं । शैक्षिक संस्था र प्राविधिक उद्योगबीचको सहकार्यलाई सुदृढ गर्दै साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र तोक्मा टेक्नोलोजी प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताले नेपालमा सीप विकास, अनुसन्धान, र प्राविधिक नवप्रवर्तनलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ ।

ललितपुरमा आयोजित एक विशेष समारोहका क्रममा साइम कलेजका प्राचार्य अशोकराज पाण्डे र टोक्मा टेक्नोलोजिजका निर्देशक सागर आङदेम्बेले आ-आफ्नो संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा साइम कलेजका कार्यक्रम निर्देशक सुमन्त गुरुङ पनि साक्षीका रूपमा उपस्थित थिए ।

यो सम्झौताअनुसार, विद्यार्थीका लागि इन्डस्ट्रीसँग सम्बन्धित इन्टर्नशिप, संयुक्त अनुसन्धान परियोजना, पाठ्यक्रम सुदृढीकरण, कार्यशाला, विशेषज्ञद्वारा सञ्चालित सत्र, ह्याकाथन, तथा नवप्रवर्तन चुनौती आयोजना गरिनेछ, जसले विद्यार्थीलाई व्यावहारिक ज्ञानमा दक्ष बनाउनेछ ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघका उपाध्यक्ष तथा वन कभर प्रालि (नेपालको एक समर्पित साइबर सुरक्षासम्बन्धी कम्पनी) का प्रमुख कार्यकारी अधिकृत चिरञ्जीबी अधिकारीले यस सहकार्यलाई ‘प्रभावकारी पहल’ का रूपमा व्याख्या गरे ।

त्यसैगरी, टोक्मा टेक्नोलोजिजले इन्टर्नशिप र अनुसन्धान परियोजनाको अवसर प्रदान गर्ने, विद्यार्थी तथा संकायलाई उद्योगसम्बन्धी मार्गदर्शन र विशेषज्ञ सत्रहरू सञ्चालन गर्ने, तथा पाठ्यक्रम समिक्षामा सहभागी भई संयुक्त कार्यक्रम आयोजना गर्नेछ ।

दुवै संस्थाले यो सहकार्यले अनुसन्धान प्रवर्धन, उद्यमशीलता विकास, र विद्यार्थीलाई रोजगारीको लागि सक्षम बनाउने विश्वास व्यक्त गरेका छन् । यस सहकार्यले नेपालका शैक्षिक संस्था र प्राविधिक उद्योगबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया