बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण

काठमाडौं । वर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले गत वर्ष असोजमा आएको बाढीपहिरोले क्षति पुर्याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गरे ।
सांसद सूर्यमान दोङले गत वर्ष असोजको बाढीपहिरोबाट भएको क्षति यकिन गर्ने, राहत तथा पुनस्र्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र मर्मतमम्भारको काममा ढिलाइ भइरहेको बताए ।
त्यस्तै, बिपी राजमार्गमा अहिलेसम्म सहज रुपमा सवारीसाधन सञ्चालन हुन नसकेको विषय पनि उनले उठाए । सांसद लेखनाथ दाहालले गत वर्षको बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग अहिले पनि १४ स्थानमा अवरुद्ध रहेको बताए । त्यस्तै, यसै हप्ता बनेपा र पनौती क्षेत्रमा अत्यधिक वर्षा हुँदा रोशी खोलामा आएको बाढीले क्षति पुर्याए पनि राहत तथा उद्धारमा सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।
सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बेथिति बढेकामा सरकारको ध्यानाकर्षण गराए । विमानस्थल अस्तव्यस्त बनेको, ठाउँ साँघुरो भएकाले यात्रु तथा सामानको असुरक्षा बढेको उनको भनाइ थियो ।
सांसद चन्द्रबहादुर विश्वकर्माले सडक दुर्घटना बढेको विषय संसद्मा उठाए । त्यस्तै जाजरकोट जिल्ला कारागारमा कैदीले आत्महत्या गरेको घटनाको छानबिन गर्न उनले माग गरे ।
प्रतिक्रिया