नाइजरमा बम विस्फोट हुँदा आठजना सुन खानी मजदुरको मृत्यु

नियामे, नाइजर । नाइजरको पश्चिमी क्षेत्र तिलाबेरीमा भएको एक विष्फोटक घटनामा परी सुन खानीमा कार्यरत आठजना मजदुरको दुःखद निधन भएको छ । स्थानीय स्रोतहरूले दिएको जानकारीअनुसार, उनीहरू सवार सवारी साधन बारुदमा परेपछि विस्फोट भएको हो ।
उक्त घटना शुक्रबार भएको जनाइएको छ । मजदुरहरू राजधानी नियामे फर्किन सैन्य सुरक्षा सहयोगमा यात्रा गरिरहेका बेला दुर्घटना भएको हो । स्थानीय बासिन्दा अमदौ अरूना माईगाले बताए अनुसार, ‘उनीहरू चढेको मिनिबस बारुदमा परेपछि विस्फोट भएको थियो, जसले आठजनाको ज्यान लिएको छ । उहाँहरूलाई आइतबार सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ ।’
स्वतन्त्र दैनिक पत्रिका ल एन्केत्यरले उक्त घटनामा १० भन्दा बढीको मृत्यु भएको उल्लेख गरेको छ । समिरा सुन खानी सन् २००४ देखि सञ्चालनमा रहेको देशको एक मात्र औद्योगिक स्तरको सुन खानी हो, जहाँ ‘सोसिएते दे मिन दु लिप्ताका’ (एसएमएल) नामक कम्पनीद्वारा खनन कार्य हुँदै आएको छ । तिलाबेरी क्षेत्र इस्लामिक राज्य र अलकायदासँग सम्बन्धित सशस्त्र समूहहरूको गतिविधिका कारण जोखिमयुक्त क्षेत्र मानिन्छ ।
नाइजर सरकारले यस क्षेत्रमा सुरक्षाका लागि दुई हजार भन्दा बढी सुरक्षाकर्मीहरू खटाएको भए तापनि, हिंसात्मक गतिविधि अझै पनि जारी रहेको देखिन्छ । मे सन् २०२३ मा यस्तै प्रकारको विस्फोटमा सात जना सुरक्षाकर्मीले ज्यान गुमाएका थिए। त्यसैगरी, जुन सन् २०२१ मा दुईजना चिनियाँ कर्मचारीहरू अपहरणमा परेका थिए, जसलाई नौ महिनापछि मात्र रिहा गरिएको थियो ।
सन् २०२३ मा सत्ता सम्हालेको सैनिक नेतृत्वले देशको सुरक्षालाई प्राथमिकता दिँदै आएका छन् । उक्त क्षेत्रको अवस्था बुझ्नका लागि सैनिक सरकार प्रमुख अब्दुरहमान तियानीले समिरा खानीको निरीक्षण गर्नुका साथै सुरक्षाकर्मीहरूसँग भेटघाट पनि गरेका थिए ।
पश्चिम नाइजरमा जारी हिंसात्मक गतिविधिको साथै, देशको दक्षिण–पूर्वी भागमा बोको हराम तथा इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रान्तजस्ता समूहहरूद्वारा हिंसा अझै जारी रहेको बताइएको छ । -रासस/एएफपी
प्रतिक्रिया