नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार र सामाजिक परिचालनसम्बधी सञ्चालन गरेको ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने निर्णय गरेको छ । पार्टी पदाधिकारीको मङ्गलबारको बैठकले दलको प्रथम महाधिवेशनपछि उठाइएको वैकल्पिक राजनीतिक एजेण्डाप्रति जनसमर्थन विस्तार हुँदै गइरहेको ठहर गर्दै देशव्यापी सङ्गठन निर्माण र विस्तारलाई तीव्र तुल्याउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।
बैठकमा अध्यक्ष डा बाबुराम भट्टराईले मुलुक ढिलोचाँडो वैकल्पिक राजनीतिको स्पष्ट मार्गचित्रमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नयाँ विचार र राजनीतिको माध्यमबाट जनतामाझ पुग्न सबै पदाधिकारीहरूलाई आह्वान गरेका पनि प्रवक्ता शर्माले बताए । बैठकले विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरूसँग सहकार्य गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सम्मिलित राजनीतिक संवाद समिति गठन गरेको छ ।
अध्यक्ष डा भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यालय, तीनकुनेमा भएकोे बैठकमा पदाधिकारीहरूले आ–आफ्नो जिम्मेवारी, कार्यक्षेत्र र सङ्गठनात्मक गतिविधिको प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टी अध्यक्ष डा भट्टराईले भारत प्रवासको अधिवेशनमा हुने क्रममा त्यहाँका शीर्ष राजनीतिक नेतृत्व र कूटनीतिक नियोगका पदाधिकारीसँग गरेको संवादले दुई देशबीचको सम्बन्ध, आपसी हित र नेपालको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा सकारात्मक भूमिका निर्वाह गरेको ठहर गरिएको प्रवक्ता शर्माले बताए ।
नेसपाले आगामी यही जेठ ३० गते काठमाडौंमा पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने तथा देशभरिका सबै प्रदेश र स्थानीय तहहरूमा वृक्षरोपण, सरसफाइ, श्रमदान, रक्तदान, स्वास्थ्य शिविरलगायत विविध रचनात्मक कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ ।
प्रतिक्रिया