बुधबार, जेठ १, २०८२

‘संरचनात्मक सुधारमा सरकार कठोर होस्, प्रमुख प्रतिपक्षी दलको समर्थन रहन्छ’

नेपालखोज २०८२ जेठ १ गते १३:५६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले चालु खर्च घटाउँदै संरचनात्मक सुधारमा ध्यान दिन सरकारलाई सुझाव दिए । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८२/०८३ को लागि विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उहाँले अर्थतन्त्रको संरचनात्मक पुनःसंरचनामा जोड दिए ।

मुलुकले आर्थिक पुनःसंरचना खोजिरहेको उल्लेख गर्दै नेता शर्माले त्यसका लागि राष्ट्रिय वहस र राष्ट्रिय सहमति आवश्यक भएको बताए ।

बजेट आम्दानी र खर्चको फाँटबारी मात्रै नभएर देशको समृद्धि, सामाजिक न्याय, असमानता अन्त्य गर्ने दस्तावेजका रुपमा प्रस्तुत हुनुपर्नेमा उनको जोड छ । मुलुकका विभिन्न भागमा भूकम्पबाट भएको क्षतिको पुननिर्माणका लागि बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिँदै उनले जनजीविकाका सबाल सम्बोधन गर्ने र व्याप्त निराशा चिर्ने गरी अघि बढ्न सरकारलाई आग्रह गरे ।

पूर्वअर्थमन्त्री शर्माले डिजिटल शैक्षिक प्रणाली, स्वास्थ्य बीमाको आकार र दायरा वृद्धि, सातै प्रदेशमा एक/एक लाखलाई उन्नत तालिम प्रदान, कृषिमा लगानी वृद्धि गरी रोजगारी सिर्जना, खानेपानी र ग्रामीण सडकको जिम्मेवारी समुदायमा हस्तान्तरण गर्न सुझाव दिए ।

प्रतिक्रिया