छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । पर्साको वीरगंज महानगरपालिका-१२ प्रतिमा चोकमा बा.४ ख ३९३५ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-१५ भिष्वा बस्ने ७३ वर्षीय ननक राउत यादवको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वंक चोकस्थित सडकमा सु.प.प्र.०१-००१ ज १६८३ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ५० वर्षीय महेन्द्र बिष्टको मृत्यु भएको छ ।
मंगलबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको बिष्णुपुर गाउँपालिका-१ खुरहुरीयास्थित सडकमा अनटेष्ट लेखेको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका-१ कबिलासा बस्ने १८ वर्षीय दिपक सन्तको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया