प्रहरी महानिरीक्षक थापाबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा नवनिर्मित भवन उद्घाटन

धनकुटा । प्रहरी महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । साथै उनले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावलाई कदरपत्र, प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गरे । साथै उनले श्रीपञ्चमी पार्क बालकेन्द्र धनकुटाको आश्रयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनले जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतमा कार्यरत प्रहरी कर्मचारीमा मनोबल वृद्धि हुनुका साथै काम प्रति थप उत्प्रेरित हुने विश्वास व्यक्त गरे । नेपाल प्रहरी सबैको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै शिष्ट र सभ्य बोली, वचन एवम् व्यवहारका साथ नागरिकमैत्री र व्यावसायिक प्रहरी सेवा प्रवाहमा केन्द्रित हुन उपस्थित प्रहरी कर्मचारीलाई उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा एव वस्तुनिष्ठ अपराध अनुसन्धान एवम् नियन्त्रणमा प्रहरीले सबै स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आएको चर्चा गर्दै समाजमा देखिएका विकृति एवम् विसङ्गति न्यूनीकरणमा नागरिकसँग हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । आत्महत्या, लागूऔषध दुव्र्यसन तथा सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायसँग समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउँदै घरेलु हिंसा, महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरूद्ध हुने अपराधमा थप सचेत हुनुपर्ने एवम् विपद् व्यवस्थापनमा समेत सक्रिय भई कार्य गर्नुपर्ने उनीहरुले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल र पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । याे अवसरमा प्राविधिक प्रहरी उपरीक्षक हरि डङ्गोलले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ९९ लाख ८० हजार १८५ रूपैयाँ ८५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया