उत्पादनबिनाको वितरणले समस्या निम्तायो : गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै उनले उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिए ।
उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्नेमा उनको भनाइ थियो ।यस्तै, राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नका लागि सुझाव दिँदे उनले शिक्षा क्षेत्रमा आमूल रूपान्तरणको आवश्यकतासमेत औँल्याए । विदेशमा पढ्न जाँदा ठूलो रकम खर्च भइरहेको उल्लेख गर्दै उपसभापति गुरुङले स्वदेशभित्र ठूलो मात्रामा आवासीय विद्यालय स्थापना गर्न आवश्यक रहेको बताए ।
उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि नयाँ संस्था खोल्नेभन्दा पनि भइरहेका स्वास्थ्य संस्थालाई साधनस्रोत सम्पन्न बनाइनुपर्ने बताए । एकीकृत स्वास्थ्य प्रणाली बनाएर बिरामीको सबै पुराना विवरण तथा तथ्याङ्क थाहा हुने व्यवस्था मिलाउन पनि उहाँले सरकारसँग आग्रह गरे ।
प्रतिक्रिया