कारको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ कात्यायनी चोकमा कारले ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ । कात्यायनीबाट भीमसेनगोलातर्फ जाँदै गरेको बाप्र०१–०३१च ९५६३ नम्बरको कारको ठक्करबाट सोही ठाउँमा डेरा गरी बस्ने भारत सितामढीका आलोककुमार झाका तीन वर्षीय छोरा शिवांश झाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते बालकको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए ।
यसैबीच आज बिहान ललितपुर महानगरपालिका–२५ भैँसेपाटी आवासमा बस्दै आएका कोरियन नागरिक लिङ योङ चुनको कोठाबाट रु छ लाख बढीको धनमाल चोरी भएको छ ।
उनको आइप्याड एक थान, म्याक बुक एक थान, ल्यापटप एक थान र नगद चार लाख गरी करिब छ लाख १० हजार बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया