तरबुजा खेतीबाट चार महिनामा १५ लाख आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका फाँट धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ ।
विगतमा तराई र भारतका स्थानबाट आएका तरबुजा मात्र खाएका पोखरेली यतिखेर आफ्नै गाउँठाउँमा फलेका स्वादिलो तरबुजाको स्वाद लिन पाउँदा दङ्ग छन् ।
सुरौदीको तिखे ढुुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले संयुक्त रूपमा गरेको तरबुजा खेती होस् वा आर्वाको ढाँडबेसीमा ई विक्रम बरालसहित युवा रवि, अर्जुन, मनिशलगायतले संयुक्त रूपमा लगाएको तरबुजा यतिखेर रोजगारीकै खोजीमा विदेशिएका युवाका लागि पनि दरिलो पाठ बनेको छ ।
रुद्रगङ्गा कृषि बहुउद्देश्यीय कृषि फर्ममार्फत ढाँडबेसीको १५ रोपनी क्षेत्रफलमा गरिएको तरबुजा खेतीबाट लगाएको चार महिनाको अवधिमा नै १५ लाख रूपैयाँ आम्दानी गरिसकिएको ई बरालले जानकारी दिए ।
विगतमा तराई र भारतबाट मात्रै तरबुजा आउने र खाने गरिएकोमा यही क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल बनिएको उनले बताए । ‘हामीले लगाएको तरबुजा लटरम्म फलेको छ’, उनले भने, ‘हामीले तीन हजार पाँच सय किलोग्राम तरबुजा उत्पादन गरिसकेका छौँ ।’
पोखरा महानगरपालिका–३३ सुरौदी फाँटको तिखेढुुङ्गामा अगुवा कृषकद्वय ज्ञानबहादुर कार्की र रमेश आचार्यले ३५ रोपनी क्षेत्रफलमा तरबुजा लगाएका छन् । उनीहरूले लगाएको तरबुजा अबको केही दिनमा नै बजारमा आउने कृषक रमेश आचार्यले बताए । उनीहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाएका छन् ।
पोखरा–१३ पाटनवेशीका बुद्धप्रसाद बरालले तीन रोपनी क्षेत्रफलमा तरबुजा लगाउनुुभएकोमा झण्डै ६०० किलोग्राम बिक्री गरिसकेका छन् । उनको लक्ष्मी बराल एग्रोफर्ममा फलेको तरबुजा बजारमा माग अत्याधिक रहेको उनले जानकारी दिए ।
पोखराकै हेमजामा द अम्मट बिचमा रमेश कार्कीले तीन रोपनी क्षेत्रफलमा लगाउनुुभएको तरबुजा राम्रो फलेको छ । उत्पादन हेर्दा यस क्षेत्रमा राम्रै तरबुुजा फलाउन सकिने देखिएको कार्कीले जानकारी दिए ।
विगतका वर्षमा सामान्य परीक्षणको रूपमा १०÷१२ रोपनी क्षेत्रफलमा मात्रै गरिएको तरबुजा खेती यस वर्ष भने २०० रोपनी क्षेत्रमा विस्तार गरिएको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न तरबुजा मेला
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ पोखरामा बिहीवार तरबुजा मेला २०८२ गरिएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को व्यवस्थापन र पोखरा महानगरपालिकाको कृषि विकास शाखाको सहकार्यमा सञ्चालित मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी आदान–प्रदान, सफल किसानका अनुभव साझा, परिकार प्रदर्शनी तथा बाली उपचार शिविरसमेत सञ्चालन गरिएको पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बरालले जानकारी दिए । कृषकको मेहनत र पसिनाको फललाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको बताउँदै उहाँले कृषि उत्पादनमा प्रोत्साहन गर्दै आत्मनिर्भरता अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताए । -रासस
प्रतिक्रिया