शुक्रबार, वैशाख १४, २०८१

एउटा आत्महत्याले हल्लाएको समाज र राजनिति

नेपालखोज २०७९ माघ १२ गते १४:५२

संघीय संसद भवन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालको सवारी निक्लिने बित्तिकै ईलामका ३६ वर्षीय प्रेम प्रसाद आचार्यले शरीरमा पेट्रोल खनाएर आगो लगाए ।

प्रहरी तथा मानिसहरूले हेरिरहे । कतिले भिडियो खिचे ।

८० प्रतिशत जलेको शरीरलाई बचाउन प्रायः असम्भव नै हुन्छ । हिजो उनले प्राण त्यागे ।

धेरैले यस घटनालाई आत्मदाहको रुपमा लिए, कसैले यसलाई राज्यले आत्महत्या गरायो पनि भनेका छन् । तर मनोवैज्ञानिक रुपमा यो राज्यले गरेको हत्या नै हो ।
ओम बानियाँ

ooooooooooooooooo
प्रेम आचार्यले आत्मदाहअघि फेसबुकमा लेखेको लामो स्टाटस पढे । देशमै उद्यम गर्न खोज्ने एकयुवाले भोगेका सकसहरुको फेहरिस्तले हाम्रो राज्यप्रणाली, प्रशासनीक र अर्थनीतिमा व्यापक सुधारको खाँचो देखिन्छ । प्रेमजीले उठान गरेका हरेक विषयमा गम्भीर भएर सुधारका लागि पहल गर्नैपर्छ । बिलम्ब नगरौं ।
उदय शमशेर राणा

ooooooooooooooooo

प्रेम प्रसाद आचार्य प्रति गह्रौं मनले हार्दिक श्रद्धाञ्जली ! आखिर देशको एक एक सिस्टम, पाईला पाईलाको अब्यबस्था, व्यबसायिक अराजकता, भष्ट्राचार, ढिलासुस्ती, शोषण, लुट, दलाली, लाचारी, अपराध, मानसिक एबम आर्थिक शोषण, अमानविय असामाजिक हर्कत आदी इत्यादीको फेयरिस्त मात्रै होइन देशका मैँ हुँ भन्नेहरूको पर्दाफास गरेर आजित भएर पटक पटक आत्मदाहको प्रयास गरेका तर बाँचेका प्रेम प्रसाद आचार्यको अन्त्यमा निधन भएछ । कहालीलाग्दो यस्तो घटना हुनुको प्रसँगमा जोडिएकाहरू उनलाई पटक पटक दुख दिएका र शोषण गरेकाहरूको दाग जिवनभर मेटिने छैन । छटपटिएर बाँच्ने छन ।

यो भयानक घटना सँगै देशले आर्थिक सामाजिक बिकृती र शोषण बिरूद्ध एबम राज्यबाट गरिनु पर्ने समान ब्यबहारको लागि ठुलो आन्दोलन चाहेको छ ।

उनले लेखेर छोडेर लामो दर्दको पेटारो बर्षौँ सम्म रेफरेन्सको रूपमा रहिरहने छ ।
भरतराज पौडेल

ooooooooooooooooo

प्रेम आचार्यजीले आफ्नो काम बापत पाउनुपर्ने पैसा नदिएकाहरू, उनको श्रीमतीको बैंक खातामा पैसा जम्मा गर्ने प्रबर्धन गर्नु, नत्र एक एकको दैलोमा आन्दोलन गर्न आउनेछौं । आन्दोलनको नेतृत्व मै गर्नेछु ।
अति भयो !
रन्जु दर्शना

ooooooooooooooooo

आत्महत्या गर्नेलाई सलाम छ भनेर देवत्वकरण नगरौं, आत्महत्या गर्ने अपराधी हो भनेर दानवीकरण पनि नगरौं । समस्या र दुःख हामी सबैका आ–आफ्नै छन् । हामी सबैजसो शोषित, पीडित, ठगिएका र पेलिएका नै छौं । कसैको मृत्युमा शोक मनाउनु, भावनामा बहनु मानवीय स्वभाव हो । तर, हामीले त्यसो गर्दैगर्दा झेलेर, संघर्ष गरेर, लडेर बाँचिरहेका मान्छेको मनोबल खस्किन दिन हुन्न । बरु हामी केही नगरौं । केही गर्ने हो भने त्यस्तो काम गरौं, जसले मान्छेलाई आत्महत्या होइन, संघर्ष गर्नका लागि प्रेरणा मिलोस् ।
दिपेन्द्र लामा

ooooooooooooooooo

एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र ? यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो । दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला । तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस् ।
रवि लामिछाने

ooooooooooooooooo

दुनियाँ निर्मम छ । केही बर्षअघि आफू शोषणमा परेको बकपत्र सार्वजनिक गर्दै आत्महत्या गरेका शालिकराम पुडासैनी हुन या आफूलाई यो देशका घरानियाहरुले ठगेको र दुख दिएको बकपत्र प्रस्तुत गर्दै आत्मदाह गरेका प्रेमप्रसादको कहानी उस्तै प्रकृतिका छन् ।

संघर्षका सबै मार्गहरु अवरुद्ध भएपछि दुबैले आत्महत्याको बाटो रोजे । यस्ता कैयौं आत्महत्याहरु बकपत्र बिनै भएका होलान । साँँच्चै हो, यो देशमा पाईला पाईलामा लुटेरा छन् । सोझा, सिधा मान्छेहरु आँसु पिएर बाँचका छन, स्वाभिमान र आत्मसम्मानलाई बन्धकी बनाउन बारम्बार सामाजिक र राजनीतिक दवाब सिर्जना भएकै हुन्छ ।

आत्महत्या कायरताको चरम उत्कर्ष हो । फेरिपनि उनीहरु धर्तिबाट बिलिन हुँदैगर्दा केही सत्यतालाई उजागर गरेका छन । भावी पुस्ताका लागि केही सत्यबचन छाडेर गएका छन । शालिकराम पुडासैनीको आत्मा यसबखत कतिधेरै बिचलित होला, त्यो अनुमान लगाउन गाह्रो छ । प्रेमप्रसाद आचार्यको आत्मदाहले बिगतमा भएका यस्ता बकपत्रहरुलाई समाजले एकपटक स्मरण गरोस । भनिन्छ मर्दै गरेको मान्छेले झुठ बोल्दैन ।
उत्तम पुडासैनी

ooooooooooooooooo

प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ । हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?
डा . शेखर कोईराला

ooooooooooooooooo

राजनीतिक नेतृत्व र शासकीय सँयन्त्र दुबैले मानविय सम्बेदनशीलता गुमाई सकेका छन । पढन बिदेशिने युवाहरुको लर्को, रोजगारीको खोजिमा बिदेसिने युबाहरुको लस्कर, अबसरको खोजिमा बिदेसिने नर्स र खेलाडीहरुको ताँतीले नेतृत्वलाई होस आएन । अब सँसद भबन सामुन्ने भएको एक युबकको आत्मदाहले नेतृत्वलाई ब्युँझाउने घण्टा बजाएको छ । निराश जनताको धैर्यको बाँध भत्किन थालेको यो सूचना हो । बेलाको बोली बुझ– आँधीबेहरीको चेताबनी लाई उपेक्षा नगर ।
डा.रमेशनाथ पाण्डे

ooooooooooooooooo

शिरमा टोपि, निधारमा टीका र गलामा माला, एक अर्ध वैसें । लख काट्ने धेरै ठाउँ छन् । स्वाभिमान लाग्छ, अध्यात्मिक चिन्तनमा हुर्केको छ । मेहनत गरेको छ र सफलतामा खुशी पनि हुने गर्दछ । त्यस्तो मान्छे पक्कै आशावादी हुँदो हो । तैपनि उसले हार खायो । इमाइल दुर्खिमको बेथितिको चक्रव्युहमा फस्यो । निर्घिणी सत्ता सम्मोहन र अनियन्त्रित लुटखसौटले रचेको बेथिती । उ लड्नु लड्यो, हार गुहार माग्यो । उसको केही सिप लागेन । र अन्ततः आत्मदाह गर्यो । उसले चलाएको यो अन्तिम अस्त्र कुनै मानेमा उचित होइन । तैपनि जाँदा जाँदै उसले आफ्ना वैरीहरुलाई चिनाएर गयो । आफ्नो मातृभुमि प्रतिको उसमा कत्रो श्रद्धा ! म मरे पनि मेरो देश बाँची रहोस !’

यो काल पल्किएको सवुत हो । त्यसबाट बच्ने हो भने बेथिति सच्याउनुको विकल्प अब रहेन ।
टंक कार्की

ooooooooooooooooo

प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ । उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक–पटक घोचीरहेको छ । यसो सोच्छु–उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि ! फेरी सोच्छु–यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिष्टम चलाउनेको असफलता हो । कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठिक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ । अब आरोप–प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !
गगन थापा, महामन्त्री, नेपाली कांग्रेस

ooooooooooooooooo

आत्म दाह गरेका प्रेम आचार्य को भनाइ : “यो देस गरि खानेलाई होइन, लुटी खानेलाई मात्र रहेछ ।‘ बाँच्ने रहर हुदा हुदै पनि बाँच्न सकिन । ‘मेरो अवाज सुनी दिनुस । ‘यो मेरो क्रान्ति हो ।‘. म मरे पनि मेरो देस बाची रहोस्, अल बिदा !“ प्रेमको यो आवाज बुझने अठोट गरौ । यहि उनीप्रति सच्चा श्रद्धान्जली हुनेछ ।
प्रकाशचन्द्र लोहनी

ooooooooooooooooo

न आत्महत्या न आत्मदाह । मेरो समकालिन उद्धमी प्रेमको यो कदमलाई मात्र विद्रोह मान्छु । उनले लेखेका सम्पुर्ण अनुभवलाई म शतप्रतिशत महसुस गर्न सक्छु । र दाबी गर्छु सम्पुर्ण साना उद्यमीले सक्छन् । त्यसैले न त म “आत्महत्या उपाय हैन” भनि उनको यो कदमको निन्दा गर्न सक्छु न त “हार्दिक श्रद्धान्जली” भनि उनको यो विद्रोहलाई समापन दिन सक्छु । प्रेमले आफ्नो शरिरमा सल्काएका यो आगोलाई श्रद्घान्जली दिएर बिदा नगरौं । यो आगोलाई बिर्सिए हामी सबै होमिनेछौं ।

प्रेम, यस्तो निर्णय लिनु अघि तिमीलाई भेटेकै भए पनि मैले केहि गर्न सक्दिन थिइन । किनकि तिमी जस्तै मलाई र सबै उद्यमीलाई यो राज्य र सरकारले दिन दिनै, पल पलै थकाउछ । तिमीले सल्काएको आगोले नासिएको तिम्रो शरिर र तिम्रो संघर्षलाई पल पल सम्झिदैं म र म जस्ताले यो विद्रोहलाई अगाडी बढाउनेछौं । जबसम्म सक्छौं ।
ऋचा पालीखे

ooooooooooooooooo

प्रेम आचार्य कायर कि हामी ?
मुलुकको बेथिति देखेर बेथितिहरुबारे फेसबुकमा लामो स्टटस लेख्दै संसद भवन अघि आत्महत्या गर्ने प्रयास गर्ने इलामका प्रेम आचार्यलाई कायर भन्न सकिएला तर जनतामा ठूलाठूला सपना देखाउने तर बेथितिलाई परिवर्तन गर्न नसक्ने (नचाहने )हामी उनी भन्दा कैयौं गुणा बढी कायर हौँ ।

अर्को कुरा प्रेम आचार्यको जीवन कथाले धेरै व्यक्तिगत महत्वाकांक्षा दुःखको घर हो भन्ने कुरा फेरि प्रमाणित गरेको छ।आकांक्षा राखौ तर कुनै कुराको पनि अत्यधिक आकांक्षा नराखौ ।
सुशील गौतम

ooooooooooooooooo

प्रेमजी ! तपाईं सल्केको आगोको रापले अब यो देश र जनतालाई कैलेसम्म पोल्ने हो, अनि त्यो कैले शान्त हुने हो ? मनमा देश विकास, उन्नति र प्रगतिको आगो सल्काउ ए ! देश चलाउँछु भन्नेहरु नत्र अब यस्ता धेरै प्रेम प्रसादहरु सल्किनेछन् ।
सत्यराज आचार्य

ooooooooooooooooo

जब एउटा व्यावसायिक युवा आफ्नो ब्यबसाय गर्दा गर्दै ऋणमा डुबेपछी नेपाल सरकार संघीय सांसद भवन अगाडि आत्मदाह गर्छ भने ती छेउमा रहेका २७५ जना सांसदहरू कति गम्भीर भए होलान ?

हुन त आत्मदाह गर्नु कायरता हो भनिन्छ तर प्रेम आचार्यले आत्मदाह प्रयास गर्नु अगाडि फेसबुक स्टाटस हेर्दा अत्यन्तै पिडादयी लाग्यो । यस्को भागिदार नेपाल सरकार पनि हो । यस्ता युवाहरूलाई उचित सहयोग र प्रोत्साहन गर्नुपर्छ कि पर्दैन ? उहाँको लेखाइमा ५०% भोगाइका शब्द छन् भने ५०% पिडाका शब्द छन् । उहाँ एउटा पात्र मात्र हुन यस्ता घटनाहरु कति छन कति कसले सुन्ने र बुझ्ने ? प्रेम आचार्यले बास्तबमा देशको नियतीलाई यथार्थ चित्रण गरेका छन् ।
शेर बहादुर डाँगी

ooooooooooooooooo

प्रेम प्रसाद आचार्य आत्मदाह प्रकरण्बाट सरकार गम्भिर भयर ग्यालोन तथा बोतल मा पेट्रोल बेच्न प्रतिबन्ध लगाएछ, अब,
१– आगोले जल्ने कपडामा प्रतिबन्ध लगाउँ,
२– सलाई तथा लाइटरमा प्रतिबन्ध लगाउ,
३– प्रेम नाम गरेका व्यक्तीहरु संसद भवनको १ किलोमिटर वरपर हिंड्न प्रतिबन्ध लगाउँ ।
यती भए सरकार गम्भिर भएको मानिनेछ ।
दिपक आचार्य

ooooooooooooooooo

आत्महत्या र आत्मदाह फरक कुरा हुन् । आत्महत्या व्यक्तिको मानसिक स्वास्थ्यसँग जोडिने कुरा हो भने आत्मदाह राज्य, व्यवस्था र समाजको बिग्रिएको स्वास्थ्यसँग । तमोर नदिमा फाल हालेर आत्मदाह गर्ने योगमाया साहसी महिला भनेर बुझ्ने हो भने संसद भवन अगाडि आफैंलाई आगो लगाउने प्रेम आचार्य पनि काँतर होइनन् ।

व्यक्तिगत लेनदेन र बिग्रिएको व्यवहारमात्र कारण हुन्थ्यो त उनी कतै चुपचाप झुण्डिन्थे, यो त विद्रोह थियो र त उनले सबैको मनमा डढेलो लाग्ने बनाएर गए । पेट्रोल त देशमै केही गर्छु भन्ने युवाहरूले जिउमा छ्यापेर बसिसकेका छन् । राज्यले भाटभटेनीहरूबाट सलाई किनेर सल्काउन मात्र बाँकी हो ।
थुप्तेन लामा

ooooooooooooooooo

केही गर्छु, पौरखमा बाँच्छु भनेर लागिपर्ने मान्छेलाई मर्ने अवस्थासम्म पुर्याउने समाजका ठग, शोषक, लुटेरा, चोरहरू पाइलैपिच्छे छन् । तिनै ज्यानमाराहरू ठूला मानिस, व्यवसायी, समाजसेवीको खोल ओढेर पुजिएका छन्, तिनको पूजा गर्ने सरकार नै एक नम्बरको लुटेरा र ठग बनेर उग्राइरहेको छ ।

गाह्रो छ देशमा, तर आफ्नो ज्यान नै फालेर चोरहरूलाई झन् हाइसन्चो नपारौं । बाँचेरै घोचिराखौं ।
जोतारे धाइबा

ooooooooooooooooo

एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् ।

त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।

नागरिकका रुपमा, जनप्रतिनिधीका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नुपर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ ।

सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्दन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।
एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।
बालेन शाह

ooooooooooooooooo

ऋणको भार थेग्न नसकेर छिन्नमस्ता –२ का श्री रामदेव मरिक (डोम)ले आत्महत्या गरे । बानेश्वर संसद भवन अगाडि श्री प्रेम आचार्यले आत्मदाह गरे । परिस्थिति सङ्ग लडन नसकेर मृत्युुको गलत बाटो रोजेका ब्यक्तिहरुमा कारणहरु भन्दा बढी राज्यसत्ताको चरित्रमा पूंजीवादको चरित्रमा खोज्न जरुरी छ ।

तत्कालको राहत, सहानुभूतिले मानवीय संवेदना त व्यक्त गर्ला तर अझ थुप्रै रामदेव मरिक र प्रेम आचार्यको बाटोमा जानेहरूलाइ रोक्न खोज्ने उपाय खोज सरकार ।
उमेश कुमार यादब

ooooooooooooooooo

गलत नीति या नीतिको गलत प्रयोगका कारण मान्छे मर्ने अवस्था बन्नु संरचनात्मक हिंसा हो । प्रेम आचार्य यो हिंसाको सिकार बने । यसका लागि नीति निर्माता (दल, सरकार), नीति लागुकर्ता (कर्मचारीतन्त्र) र समान/समावेशी नीति–निर्माणका लागि पैरवी गर्छौँ भन्ने नागरिक समाज जिम्मेवार छन् । बेथिति विरुद्ध बोल्न÷जाग्न नसक्ने हामी जिम्मेवार छौँ । यसबाट पाठ सिकौँ, राजनीतिक छिनाझपटीलाई दैनिकी नबनाउँ, जनजीविकासम्बन्धी अहम् प्रश्नहरूको हल खोज्न एकत्रित भएर लागौँ !
मुकुन्द कट्टेल

प्रतिक्रिया