परराष्ट्रमन्त्री डा. राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका उनले आज यहाँ मन्त्री डा राणासँग ‘साइडलाइन’ भेट गरेका हुन् । त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको थियो ।
मन्त्री डा राणाले बिम्स्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याइन् । यसैगरी मन्त्री डा. राणासँग किर्गीस्थानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज शिष्टाचार भेटवार्ता गरे ।
सगरमाथा संवादका लागि नेपालमा रहनुभएकी निदाराले मन्त्री डा राणासँग आज होटल सोल्टीमा शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री डा राणाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरे ।
उक्त भेटमा किर्गीस्थान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो । -रासस
प्रतिक्रिया