सोमबार, जेठ ६, २०८२

ईरान भन्छन्- युरेनियम समृद्धिको अधिकार कुनै सम्झौताको विषय होइन

नेपालखोज २०८२ जेठ ६ गते १९:४३

तेहरान । ईरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आफ्नो देशले ‘युरेनियम समृद्धिको अधिकारलाई अडिग र असमझौता योग्य विषय’ का रूपमा लिएको स्पष्ट गरेका छन् ।

उनले यो धारणा अमेरिकी विशेष दूत स्टिभ विटकोफको अभिव्यक्तिको सन्दर्भमा व्यक्त गरे, जसमा उनले ईरानलाई युरेनियम समृद्धिमा प्रतिबन्ध लगाउने विषयमा आफ्नो देशको कडा नीति दोहोर्याएका थिए ।

प्रवक्ता बघाईले भने, ‘ईरानले आफ्नो भूमिमा युरेनियम समृद्धिका लागि कसैको अनुमति लिनुपर्ने छैन । यो अधिकार अन्तर्राष्ट्रिय सन्धि, विशेषतः आणविक हतियार नफैलाउने सन्धी (एनपीटी)द्वारा स्पष्ट रूपमा सुनिश्चित गरिएको छ ।’

उनले युरेनियम समृद्धि गर्नु मात्रले कुनै राष्ट्रले अशान्तिपूर्ण उद्देश्य राखेको भन्ने ठहर गर्नु अनुचित र भ्रामक धारणा भएको पनि उल्लेख गरे । उनका अनुसार विश्वमा कैयौँ देशहरूले युरेनियम समृद्धि गरिरहे पनि उनीहरूसँग आणविक हतियार छैन ।

बघाईले पछिल्ला अप्रत्यक्ष वार्ताहरूमा केही सकारात्मक सङ्केत देखिएको जनाउँदै भने, ‘वार्ता सकिएपछि केही समझदारीको वातावरण बनेको महसुस हुन्छ, तर अमेरिकामा फर्किएपछि उहाँहरूको धारणा फेरिने देखिन्छ, जुन दुर्भाग्यपूर्ण हो ।’

अमेरिकाबाट प्रतिबन्ध जारी राखिएकोप्रति उहाँले गहिरो चिन्ता व्यक्त गर्दै ती प्रतिबन्धहरूलाई मानव अधिकारविरुद्धका कार्य र इरानी जनताप्रति द्वेषपूर्ण व्यवहारको प्रमाणका रूपमा चित्रण गरे । त्यस्तै, अमेरिकाबाट लिखित प्रस्ताव आएको भन्ने दावी अस्वीकार गर्दै उहाँले ईरानले हालसम्म कुनै औपचारिक लिखित प्रस्ताव प्राप्त नगरेको स्पष्ट पारे ।

ईरानका परराष्ट्रमन्त्री सेइद अब्बास अराघ्चीले पनि टर्कीका परराष्ट्रमन्त्री हाकान फिदानसँगको टेलिफोन वार्तामा शान्तिपूर्ण आणविक ऊर्जा प्रयोग गर्ने ईरानको अधिकारमाथि कुनै सम्झौता हुन नसक्ने धारणा व्यक्त गरे ।

उनले यदि अर्को पक्षले वास्तविक इच्छाशक्ति देखायो र ईरानका वैध अधिकारको सम्मान गर्यो भने ईरान पनि पारस्परिक हितमा आधारित समाधानका लागि तयार रहेको बताए ।

हालसम्म ओमानको मध्यस्थतामा ईरान र अमेरिकाबीच चार चरणका अप्रत्यक्ष वार्ता सम्पन्न भइसकेका छन् र पाँचौँ चरणको मिति तथा स्थान चाँडै तय हुने अपेक्षा गरिएको छ । -रासस/एएफपी

प्रतिक्रिया