हुरी र असिनापानीले एकजना घाइते

बैतडी । हुरी र असिनापानीका कारण बैतडीमा एकजना घाइते भएका छन् । सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
हुरीले सिँगास गाउँपालिका(२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ । छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । टेकेन्द्रको टाउकोमा चोट लागेको छ ।
हुरीका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध विद्युत् सेवा सञ्चालनको प्रयास भइरहेको जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणका प्रमुख जनार्दन पौडेलले बताए । यसअघि गत चैत अन्तिम साता पनि असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बेर्नामा क्षति पुर्याएको थियो । -रासस
प्रतिक्रिया