सुत्केरी र शिशु स्याहारका लागि पोषण खर्च

नेपालखोज २०८२ जेठ ६ गते १४:४७

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ९३ सुत्केरीलाई नगद पाँच हजारका दरले पोषण खर्च उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’ मार्फत गाउँपालिका भित्रका ९३ जना सुत्केरीलाई रकम हस्तान्तरण गरिएको हो ।

सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले पोषण खर्च दिने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । सुत्केरी आमालाई आर्थिक सहायता, पोषण र स्याहारको खाँचो विशेष रूपमा महसुस हुन्छ, यिनै आवश्यकतालाई बुझेर गाउँपालिकाका तर्फबाट केही भए पनि रकम दिने व्यवस्था मिलाइएको हो, उनले भने ।

गाउँपालिकाभित्र रहेका सबै वर्ग समुदायका महिलालाई सुत्केरी समयमा आधारभूत पोषणको कमी नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । सुत्केरी भएपश्चात् बैङ्क खातामा रकम पठाइने भए तापनि तत्कालको गर्जो सापटीमार्फत चलाउन सक्ने आधार पोषण खर्च कार्यक्रमले सुनिश्चित गरेको अध्यक्ष पाण्डेले बताए ।

यो कार्यक्रममार्फत मातृ र शिशुमृत्यु दर घटाउने हाम्रो प्रयास हो, उनले भने, हामी चाहन्छौँ सुत्केरी महिला पोषिलो आहार खान सकून्, आफूलाई स्याहार गर्न सकून् । गाउँपालिकाले यो कार्यक्रमलाई मातृ स्वास्थ्यसँगै महिला आत्मनिर्भरताको पनि एउटा पाइलाका रूपमा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए ।

हामीले पोषण खर्चका साथै स्वास्थ्य सल्लाह, नियमित जाँच र भिटामिन वितरणजस्ता सेवा पनि सँगसँगै प्रवाह गरिरहेका छौँ, उनले भने । गाउँपालिकाभित्र स्थायी बसोबास गरेका महिला गर्भवती अवस्थामा चारपटक स्वास्थ्य संस्थामा परीक्षणका लागि गएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र बच्चाको जन्मदर्ता गरेको प्रमाण पेस गरेपछि गाउँपालिकाले रकम उपलब्ध गराउने गरेको छ । यो सहायता रकम महिला आफैँले प्रयोग गर्नसक्ने व्यवस्था गरिएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र रेग्मीले बताए ।

प्रतिक्रिया