सावित्री पर्वको तयारी गर्दै मिथिलानी

जलेश्वर । मिथिलानीहरू तराई मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आउँदो सोमबार अटल सौभाग्यको कामना गर्दै मनाइने पर्वको तयारीमा जुटेका छन् ।
पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता तथा विवाहित नारीले प्रत्येक वर्ष मनाइने बट सावित्री पर्वका लागि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी नारीहरू ९मिथिलानीहरू० विभिन्न तयारीमा लागेका हुन् ।
मिथिलानीहरू अहिले आ-आफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ बस्त्र, चुरा पोते, टिका, विन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पङ्खा र डालो किनमेल गर्दै देखिएका छन् ।
पर्व आउन अब एक साता मात्रै बाँकी रहँदा महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित हटियामा अहिले प्रत्येक दिन साँझपख महिलाको घुइँचो लाग्ने गर्दछ । जहाँ महिला बासको पङ्खा र डालो किनिरहेको हेर्न सकिन्छ । त्यस्तै दिनभरि यहाँको विभिन्न श्रङ्गार पसल, कपडा, पसल र चुरापोतेको पसलमा महिलाको भीडभाड रहने गरेको हेर्न सकिन्छ ।
पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरी लगायत तराई, मधेसका महिलाले आउँदो सोमबार बट सावित्री पर्व मनाउने भएको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका मुख्य पूजारी उपेन्द्र पाठकले बताए । मिथिलाञ्चलमा बट सावित्री पर्वलाई स्थानीय भाषामा (बरसाइत पावइन) भन्ने गरिन्छ । जेठ कृष्णपक्ष अमावस्याका दिन मनाइने बर साइत पावइन (बट सावित्री पर्व) नवविवाहिता र सामान्य विवाहित महिलाले फरकफरक विधिअनुसार मनाउने चलन छ ।
नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्य रूपमा ससुराली (श्रीमान्को घर) मै मनाउनुपर्छ । नवविवाहिताले सो पर्वको लागि नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्रश्रृङ्गार अर्थात लाउने लुगादेखि चुरासम्मका सबै श्रृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ । -रासस
प्रतिक्रिया