बुधबार, जेठ ८, २०८२

प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता

नेपालखोज २०८२ जेठ ८ गते १४:५२

वीरगञ्ज (पर्सा) । वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथ यात्रा आगामी असारको दोस्रो साता हुने भएको छ । गहवामाई तीर्थ क्षेत्र विकास समितिका आयोजनामा आगामी असार १३ गते हजारौं दशनार्थीहरुका उपस्थितिमा रथयात्रा गर्न लागिएको हो । समितिका अध्यक्ष श्यामकुमार पोखरेलले विभिन्न उपसमित गठन गरेर रथयात्राको तयारी तिव्र पारिएको जानकारी दिए ।

विगत दुई वर्षदेखि वीरगञ्जमा ५० हजारभन्दा धेरै दशनार्थीहरुको उपस्थितिमा गहवामाई रथयात्रा गर्दै आइरहेका छौं,’ उनले भने, यो वर्षपनि पनि विगतका वर्षमा जस्तै भव्य र सभ्य ढंगले रथयात्रा गर्ने तयारीमा जुटेका छौं ।’ समितिले रथयात्रालाई व्यवस्थित र मर्यादित गराउनको लागि विभिन्न नौ उपसमिति पनि गठन गरेको छ ।

धार्मिक समन्वय उपसमितिको संयोजक डा.पुरुषोत्तम दुवेले यसपटकको रथयात्रामा करिव ८० हजारभन्दा धेरै श्रद्धालु भक्तजनहरुको सहभागिता अपेक्षा गरिएको जानकारी दिए । ‘गहवामाई वीरगञ्जको प्रख्यात गहवामाई प्राचीन महत्वको धरोहर भएकाले पनि रथयात्रा गर्न लागिएको हो’ उनले भने,‘भारतको जगन्नाथ पुरीमा जस्तै गरी वीरगञ्जको गहवामाई मन्दिरको पनि रथयात्रा निकाल्ने परम्पराको विकास गरेका छौं ।

यसले यहाँको पर्यटकीय स्थलको प्रचारप्रसारमा समेत सहयोगी हुने अपेक्षा गरेका छौं । असार १४ गते ५६ भोग र भण्डारा(प्रसाद) वितरण कार्यक्रम समेत राखिएको छ । मधेश प्रदेशमा नै प्रसिद्ध रथयात्रा भएकाले पनि रथयात्रामा साधुसन्त,महिलाहरुको उल्लेखनीय सहभागिता जनाउनेछन् ।

धार्मिक समन्वय समितिका संयोजक दुवेले धर्म,संस्कृति र संस्कार जोगाउन पनि रथयात्रा गर्दै आइरहेको दावी गरे । ‘हाम्रो धर्म,संस्कृति र आस्था जोगाउनलाई जोगाउनको लागि पनि रथ यात्रा गर्न लागिएको हो,’ उनले भने,‘‘ धर्म संस्कृति नयाँ पुस्ताका पिढीँलाई हस्तान्तरण गर्नका लागि आवश्यक भएकाले पनि गर्न लागेका हौं ।’

प्रतिक्रिया