बुधबार, जेठ ८, २०८२

उहिलेको चिया पकाउने भाँडा

नेपालखोज २०८२ जेठ ८ गते १७:०९

धेरै कमलाई याद होला, यस किसिमको चिया पकाउने भाँडा पनि हुन्थ्यो । समोवर भनेर चिनिने यो भाँडाको शुरुवात पछिल्लो समय भने धेरै चिसो हुने रुसबाट शुरु भएको हो । पानी तताउनका लागि उपयोग गरिने यो भाँडाका लागि छुट्टै चुलो, बिजुली वा ग्याँसको आबश्यकता हुदैन । बिचमा गोलो पाइपको खाली भाग हुन्छ, जहाँ कोइला राखिन्छ । तल्लो भागमा हावा पस्नको लागि जाली बनाइएको हुन्छ । जहाँबाट बलिरहेको कोइला खस्दैन तर खरानी भने झर्दछ ।

परापूर्वकालमा भने यो भाँडाको शुरुवात इरानमा भएको मानिन्छ । अठारौं शताब्दीमा रुसबाट शुरु भएको आधुनिक किसिमको समोवर भने बिस्तारै यूरोप हुँदै भारतमा अंग्रेजको शासनकालमा भारतमा भित्रिएको थियो । भारतमा पनि प्रमुख रुपले चिसो क्षेत्र कास्मीरमा अत्यधिक प्रिय रहन पुग्यो । कास्मीरमा भने हिन्दु र मुस्लिमहरुले अलग अलग किसिमको समोवर प्रयोग गर्दथे । मुस्लिम समुदायले तामाबाट बनेको र हिन्दूहरुले भने पितलले बनेको समोवर प्रयोग गर्दथे ।

भाँडामा पानी, चियापत्ती, चिनी र दूध राखेपछि चिया उम्लन्छ र अगाडिको धाराबाट गीलासमा चिया खन्याएर दिन सकिन्छ । अथवा अन्य भाँडामा पकाएको चियालाई यस भाँडामा खन्याएर दिनभर जसो तातो चिया बिक्री गर्न पनि सकिन्छ । माथिल्लो भागमा रहेको ढक्कन बन्द गरेर भित्र बलिरहेको कोइलालाई निभाउन सकिन्छ ।

यहाँ बुटवलको एक ५० वर्ष पुरानो तस्विरमा समोवरमा चिया बेच्दै गरेको देख्न सकिन्छ । पितलले बनेको समोवर भएका कारणले यी बृद्ध हिन्दु हुन भन्ने बुझ्न सकिन्छ । यस किसिमका समोवरहरु अचेल देख्न पाइदैन तर भारतमा सजावतमा राख्न सकिने विभिन्न प्रकारका समोवरहरु किन्न पाईन्छ पाइन्छ ।

प्रतिक्रिया