‘मनसुनजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहनू’

कुरिनटार । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित छैटौँ समूहको गोताखोर तालिमको आज समापन गर्दै उनले तालिमका क्रममा सिकेका सीपको प्रयोग गरी अप्ठ्यारामा परेको नागरिकको सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिए ।
गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै विपद् जोखिम न्यूनीकरणमा लाग्न जरूरी रहेको बताए ।
जोखिम न्यूनीकरणका लागि स्थानीय तथा प्रदेश सरकारलाई सक्षम बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जोखिममा परेका नागरिकको जीउधनको सुरक्षा, राहत तथा पुनःनिर्माणमासमेत सबै सुरक्षा निकाय तथा स्थानीय तहले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरी कर्मचारीले तालिममा हासिल गरेका ज्ञान, कला र सीपलाई कार्यक्षेत्रमा खटिँदा सदुपयोग गर्दै आपत्विपद्मा परेका नागरिकको उद्धार कार्यमा आफ्नो ज्यानको प्रवाह नगरी दिएको योगदान प्रशंसनीय रहेको बताए ।
उनले सशस्त्र प्रहरी कर्मचारीले गरेका हरेक क्रियाकलापले आमनागरिकमा भरोसा पैदा गरेको जनाउँदै उनले आमनागरिकले आगामी दिनमा पनि यस्तै कामको अपेक्षा गरेको बताए ।
गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल विभिन्न प्रकृतिका विपद् जोखिममा रहेको हुँदा यसखालका तालिमबाट दक्ष जनशक्ति उत्पादनका साथै विपद्मा फसेका नागरिकको उद्धार र राहत कार्यमा सहजता पुगेको बताए ।
गोताखोर तालिम प्राप्त गरेका जनशक्तिले आफ्नो जीउको बाजी राखेर पीडित नागरिकको उद्धारमा लागेको उल्लेख गर्दै उनले विपद् उद्धार कार्यका लागि चाहिने साधनस्रोत र जनशक्तिमा कमीकमजोरी नआओस् भन्नेतर्फ मन्त्रालय प्रयासरत रहेको जानकारी दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनले आपत्विपतमा परेका नागरिकको उद्धार राहत तथा सेवा सुरक्षालाई सधै प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे ।
सीमा तथा आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यस्थापनको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले विपद् व्यवस्थापनलाई ध्यान दिएर सम्पूर्ण इकाइमा आधारभूत उद्धार सामग्री र प्रदेशस्तरमा विशिष्टिकृत आधुनिक उपकरणसहित दक्ष र व्यावसायिक जनशक्ति तैनाथ गर्ने योजना रहेको बताए ।
महानिरीक्षक अर्यालले विभिन्न प्रकृतिका विपद् प्रतिकार्य गर्नसक्ने समुदायस्तरमै समुदाय विपद् स्वयंसेवक उत्पादन गर्ने योजना कार्यान्वयन भइरहेको जनाउँदै जेठ महिनभित्रै सबै वडामा २५ जनाका दरले एक लाख ७० हजार समुदायस्तरमा विपद् सूचक तयार गर्ने लक्ष्य रहेको बताए ।
नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भरत खनियाँले तालिम केन्द्रको विविध गतिविधिको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
सो अवसरमा गृहमन्त्री लेखकले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण र महानिरीक्षक अर्यालले गोताखोर ‘ट्याग’ प्रदान गर्नुभएको थियो । त्यस अवसरमा गृहमन्त्री लेखकले विपद् व्यवस्थापनसम्बन्धी सामग्री रहेको ‘डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एक्जिवेशन सेन्टर’को समेत अवलोकन गरेका थिए ।
छ हप्ता अवधिको उक्त तालिममा २० जना सशस्त्र प्रहरी कर्मचारी सहभागी थिए । तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो ।
प्रतिक्रिया