पोखरामा ‘प्रधानमन्त्री कप’ महिला तथा पुरूष भलिबल लिग सुरू

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि नवौँ संस्करणको ‘प्रधानमन्त्री कप-एनभिए महिला तथा पुरूष भलिबल क्लब लिग’ सुरू भएको छ ।
नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर पोखरा रङ्गशालाको बहुउद्देशीय कभर्ड हलमा खेल सञ्चालन भएको हो । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक समारोहबीच उद्घाटन गरे ।
प्रतियोगिताअन्तर्गत आजका खेलमा पुरूषतर्फ नेपाल पुलिस क्लब, टिपटप हेल्प नेपाल, गण्डकी प्रदेश र नेपाल एपिएफ क्लब विजयी भए । महिलातर्फ भने एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरूआत गरे ।
पुरूषतर्फ मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले सोझो सेटमा हराउँदै विजयी सुरूआत गरेको छ । पुलिसले २९-२७, २५-२० र २६-२४ ले जित दर्ता गर्न सफल भयो ।
हेल्प नेपालले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्न सफल भयो । हेल्प नेपालले ३०-२८, २५-२१ र २५-२० ले खेल जित्यो । घरेलु टोली गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३-१ ले हरायो । गण्डकीले २५-१५, २५-२१, २५-२२ र २५-२० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । यसैगरी एपिएफले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको हो । एपिएफ २५-१९,२५–१६,२५–१६ ले विजयी भएको थियो ।
महिलातर्फको खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई २२-२५, २५–१९, २५-१७ र २५–१३ ले हरायो । यसैगरी एपिएफ क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । एपिएफले २५-१०,२५–१०, २५–१५ को सहज जित निकालेको हो ।
प्रतियोगितामा पुरूषतर्फ आठ र महिलातर्फ छ टोलीले सहभागिता रहेको छ । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदुरपश्चिम प्रदेश र मणिमुकुकन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फका उपाधि विजेताले नगद आठ लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले समान चार/चार लाख रुपैयाँ तथा तृतीय हुने टोलीले समान दुई लाख रुपैयाँका दरले पुरस्कार पाउने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
यही जेठ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद ५०/५० हजार रुपैयाँ र विद्यागत उत्कृष्ट खेलाडीहरूले जनही नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया