पर्यटकको पर्खाइमा ३०० वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ ।
मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैनन् । हरियालीबीच यहाँको वस्ती अत्यन्तै सुन्दर छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ ।
नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको यो बस्तीमा सामुदायिक घरबास ९होमस्टे० सञ्चालनमा आएको छभने यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन् । थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेकोे कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ । नगरपालिकाको तथ्याङ्कानुसार ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ० नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ ।
‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन् ।
नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौंबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ । त्यसैगरी, नयाँ खोलिएको थानकोट-चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ । फर्पिङ-फाखेल-मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान रहेको छ ।
लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिने स्थानीय बताउँछन् । यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीको मात्र बसाइ रहेको छ ।
नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि रहेका छन् । यस बस्तीमा एक अनौठो चलन छ । यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ । कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो ।
एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताए । उनका अनुसार गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत भएका कारण यसलाई बिग्रन नदिनेमा गोपालवंशदेखि रहेको र तीन सय वर्ष पुराना हुन् भन्ने प्रशस्त प्रमाण भेटिने उनको दाबी छ ।
त्यसैगरी, यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताउनुभयो । थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाले पढ्न र अधिकारका कुरा गर्न थालेको उनी सम्झन्छन् । तत्कालीन जनयुद्धमा छोरी गुमाउनुभएकी उहाँलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको बताउनुहुन्छ ।
उनका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको सुनाउछन् । उनका अनुसार यहाँ पुरूषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाले पनि पुरूषसरह खेतीपातीको काम गर्छन् । यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उनको भनाइ छ ।
थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौँको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिनुभयो । यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उनी बताउछन् । मकवानपुरको पहाडी भेग अझ काठमाडौँ उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले जानकारी दिए ।
नगरप्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा असाध्यै मेहनती छन् । कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैँले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ । महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो । बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ । पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ ।
प्रतिक्रिया