शुक्रबार, जेठ १०, २०८२

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

नेपालखोज २०८२ जेठ १० गते १५:५४

काठमाडौं । चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङले भेटवार्ता गरेका छन् । त्यस अवसरमा मन्त्री शाहीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै चीनको एक घनिष्ट मित्र, विकास साझेदार र असल छिमेकीका रूपमा नेपालले सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिएको उल्लेख गरेका उनको सचिवालयले जनाएको छ ।

दुई देशबीच विभिन्न तहमा हुने नियमित भ्रमण आदानप्रदानले विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको उहाको भनाइ थियो । मन्त्री शाहीले मानव–वन्यजन्तु द्वन्द्व, पारिस्थितिक प्रणाली पुनस्र्थापना, विपद् जोखिम न्यूनीकरण र मरुभूमि तथा सीमान्तकृत भूमिको पुनरुत्थान, बाँस र बेतको आनुवंशिक सुधारमा संयुक्त सहकार्य, काठ प्रशोधन, बाँस र बेतका उत्पादनहरू विकास, वन्यजन्तु पालन आदिमा चीनबाट प्राविधिक सहयोगलगायत विषयमा सहकार्यका लागि आग्रह गरेका थिए ।

उनले नेपालबाट दुईवटा गैँडा हस्तान्तरण गर्ने प्रक्रियालाई अन्तिम रूप दिने कार्य अघि बढेको अवगत गराए । चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन (इन्बार) परिषद्को १३औँ बैठकको अध्यक्षता गर्न शाही चीन भ्रमणमा गएका हुन् । नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो ।

मन्त्री शाहीले इन्बारको संस्थापक सदस्य तथा १३औँ परिषद्को अध्यक्षका रूपमा नेपाल यसका कार्यक्रमहरू र १३औँ परिषद् बैठकको नतिजा कार्यान्वयन गर्न तथा सहयोगका थप अवसरहरू खोज्न सबै सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका थिए । सन् १९९७ मा स्थापित अन्तर्राष्ट्रिय बाँस तथा बेत सङ्गठन एक अन्तरसरकारी विकास सङ्गठन हो, जसले बाँस तथा बेतको प्रयोग गरी वातावरणीय रूपमा दिगो विकासलाई प्रवर्द्धन गर्दछ ।

प्रतिक्रिया