शुक्रबार, जेठ १०, २०८२

अख्तियारमा वीरगञ्ज महानगरसम्बन्धी उजुरी धेरै

नेपालखोज २०८२ जेठ १० गते १६:५०

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यहाँका १४ पालिकामध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरका कामकारबाहीसम्बन्धी उजुरी परेका छन् ।

आयोगका हेटौँडा कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज महानगरसम्बन्धी १४१ उजुरी परेका छन् । कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले पर्साका पालिकामध्ये सबैभन्दा धेरै उजुरी वीरगञ्ज महानगरका परेको जानकारी दिए । चालु आवको १० महिनामा वीरगञ्ज महानगरमा १४१ उजुरी परेका छन्, उनले भने, सोही अवधिमा पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकाको उजुरी भने शून्य रहेको छ ।

कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म छिपरमाई गाउँपालिकामा १०४ उजुरी परेका छन् । यस्तै, बहुदरमाईमा २३, पोखरियामा २९, कालिकामाईमा छ, पकाहाँमैनपुरमा १७, जगरनाथपुरमा चार, धोबिनीमा १०, विन्दावासिनीमा आठ, पर्सागढीमा चार, सखुवाप्रसौनी र ठोरी गाउँपालिकाका तीन-तीनवटा उजुरी परेका छन् । चालु आवको १० महिनामा जिल्लाका स्थानीय तहसम्बन्धी ३५२ वटा उजुरी परेका छन् जबकि गत आवभरिमा १७२ वटा उजुरी परेका थिए ।

कार्यालयका अनुसार चालु आवको १० महिनाको अवधिमा वीरगञ्ज महानगरसम्बन्धी १०२ उजुरी फछ्र्यौट भएका छन् । यस्तै, छिपरमाइसम्बन्धित उजुरी पनि ५७ र बहुदरमाईसम्बन्धित नौवटा उजुरी फछ्र्यौट भएका छन् ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरैजसो उजुरी आउने गरेको बताए । स्थानीय तहमा विशेष गरेर सार्वजनिक खरिद र निर्माण प्रक्रियासम्बन्धी उजुरी धेरै आउने गरेका छन्, उनले भने, गलत इष्टिमेट तयार पार्ने, खरिद प्रक्रिया र कानुनको परिपालन नगर्ने समस्या छ । यस्तै, उपभोक्ता समितिले जिम्मा लिएका काम अर्को ठेकेदारमार्फत गराउने गलत प्रवृत्तिको पनि विकास भइरहेको छ । जसले धेरैजसो समस्या उत्पन्न भइरहेका छन् ।

प्रतिक्रिया